खेल


प्रमाणविना लगाएको आरोप केवल बदनाम गराउने प्रयत्न मात्र हो : पारस खड्का

प्रमाणविना लगाएको आरोप केवल बदनाम गराउने प्रयत्न मात्र हो : पारस खड्का

नेपालखबर
साउन ८, २०७८ शुक्रबार ११:१०,

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले आफ्नो चरित्रमाथि बिना प्रमाण लगाइएको आरोप आफूलाई बदनाम गराउने प्रयत्नमात्रै भएको बताएका छन। 

 

एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताका संस्थापक आमिर अख्तरले खेलाडीद्वय खड्का र ज्ञानेन्द्र मल्ल तथा नेपाल क्रिकेट संघ(क्यान)का सदस्य बलियो नेपाल अभियान कार्यक्रममार्फत एक साथ अघि बढ्दा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने भन्दै प्रश्न उठाएका थिए। 

 

उनले क्यानका सदस्यसँगै वर्तमान टोलीका कप्तान मल्ल र खेलाडी एउटै 'व्यवसायिक प्रकृति'को कार्यक्रममा संग्लन भएकाले क्यानले यसबारे अनुसन्धान गर्नुपर्ने माग गर्दै क्यान पदाधिकारीलाई इमेल समेत लेखेका थिए। सोही विषय समेटेर तयार पारिएको समाचार प्रतिसमेत खेलाडी मल्ल, खड्का र क्यान सदस्य लामाले आपत्ति जनाएका छन।

 

खड्काले शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आजसम्म आफ्नो नियत र इमानदारीतामाथि कसैले प्रश्न नगरेको भन्दै नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट 'गलत भएको हुन सक्ने' भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले अत्यन्तै दु:खी बनाएको उल्लेख गरेका छन। 

 

'तर, आजसम्म मेरो नियत र इमानदारीतामाथि कसैले प्रश्न गरेको थिएन। नेपाली क्रिकेटबाट वर्षौदेखि लाभ लिइरहेका एक व्यक्तिले कपोलकल्पित र नियोजित ढंगबाट 'गलत भएको हुन सक्ने' भन्दै मेरो, राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ल र क्यानका बोर्ड सदस्य छुम्बी लामाको नियत र इमानदारीतामा प्रश्न गरी प्रकाशित गरेको समाचारले मलाई अत्यन्तै दु:खी बनाएको छ। यो समाचारको म खण्डन गर्दछु र कुनै प्रमाणविना लगाएको यो गलत आरोप केवल बदनाम गराउने प्रयत्न मात्र हो । यसलाई यही अर्थमा बुझिदिनु हुन सम्पूर्ण क्रिकेट प्रेमी नेपालीमा आग्रह गर्दछु,' पारसले गरेको पोस्टमा उल्लेख छ। 

खड्काको विज्ञप्तिअघि बिहीबार खड्कासँगै मल्ल र लामाले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए।  

बुधबार एक न्युज पोर्टलले ‘बलियो नेपालबारे क्यानलाई ईपीएलका अख्तरको प्रश्न’ शीर्षकको समाचारले आफूहरूको चरित्रमा दाग लगाउने काम गरेको भन्दै उनीहरूले संयुक्त विज्ञप्ति जारी गरी खण्डन र निन्दा गरेका हुन्। 

सामाजिक सञ्जाल ‘क्लब हाउस’मा क्रिकेटबारे भएको छलफललाई आधार बनाएर प्रकाशित समाचारले २ दसकभन्दा बढी समयदेखि क्रिकेट खेल तथा कप्तानीमा क्रियाशील खेलाडीहरूको चरित्रमा धावा बोलेको उनीहरूले उल्लेख गरेका छन्।

‘सो समाचारले खेलाडीहरू शक्ति गौचन, पारस खड्का, ज्ञानेन्द्र मल्ल, रुबिना क्षेत्रीको चरित्रमा दाग लगाउने काम भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘तथ्यहीन कुरालाई लिएर व्यक्तिगत मानहानि गर्ने र खेलाडीको इज्जत–प्रतिष्ठामा नै आँच पुर्याउने कार्यप्रति हामी खेद प्रकट गर्दछौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .