ad ad

खेल


यसपटकको युरोकप कसले जित्ला? यसो भन्छन् नेपाली खेलप्रेमी

यसपटकको युरोकप कसले जित्ला? यसो भन्छन् नेपाली खेलप्रेमी

लक्ष्मी जि.सी
असार २०, २०७८ आइतबार १८:३२,

डेनमार्क र इंग्ल्यान्डले अन्तिम ४ मा स्थान बनाएसँगै यूईएफए युरोकपको सेमिफाइनल समीकरण पूरा भएको छ। 

२४ टोली सहभागी युरोकपमा समूह चरण, राउण्ड अफ १६, क्वार्टरफाइनल चरण पार गर्दै ४ टोली सेमिफाइनलमा पुगेका छन्। 

शनिबार राति भएको खेलमा डेनमार्कले चेक रिपब्लिकलाई २–१ ले तथा इंग्ल्यान्डले युक्रेनलाई ४–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेका थिए। 

यस्तै इटालीले बेल्जियमलाई २–१ ले तथा स्पेनले स्विटजरल्यान्डलाई टाइब्रेकरमा ३–१ ले हराउँदै सेमिफाइलनमा ठाउँ बनाएका थिए। 

युरोकपको जारी सिजनमा बलियो मानिएका केही टोलीहरु बाहिरिसकेका छन्। क्वार्टरफाइनलका खेलपछि अब सेमिफाइनल भीडन्त अझै रोमाञ्चक हुने आशा गरिएको छ। 

सेमिफाइनलमा बुधबार राति इटाली र स्पेन तथा बिहीबार राति इंग्ल्यान्ड र डेनमार्क खेल्नेछन्। जसबाट २ टोली घर फर्किँदा दुई टोली भने उपाधिका लागि आगामी आइतबार भेट्नेछन्।  

युरोकप युरोपमा मात्र होइन, संसारमै हेरिने फुटबल प्रतिस्पर्धा हो। 

युरोपमा खेल हारजित हुँदा नेपालमा पनि खेल प्रेमीमाझ विजय मनाउने र दुःख मान्ने गरिन्छ। 

यसपटकको युरोकप कसले जित्ला त? हामीले फुटबल विश्लेषक, ओलम्पियन, फुटबलकै पूर्वकप्तान, प्रशिक्षक, खेलाडीसँग उनीहरुको मन चोर्ने प्रयास गरेका छौँ। 

हेरौँ के भन्छन् उनीहरु?

इंग्ल्यान्डले जित्ला जस्तो लागेको छ
(सञ्जीव मिश्र : फुटबल विश्लेषक)  


आफूलाई फुटबल समर्थक भन्न रुचाउने फुटबल विश्लेषक सञ्जीव मिश्र फुटबलमा कुनै एक टोलीको समर्थन गर्न गाह्रो हुने बताउँछन्। 

‘त्यसैले मैले फुटबललाई समर्थन गर्छु’, उनी भन्छन्।  

युरोपको ठूलो नामहरु नै सेमिफाइनलमा पुग्छन् भनेर पहिलाबाट नै जुन आशा गरिएको थियो त्यो नै भएको ठान्छन् उनी। 

‘फिफा वरीयताको शीर्ष १० मा रहने टोली नै सेमिफाइनलमा पुगे’, उनले नेपालखबरसँग भने, ‘समूह चरण हुँदै विभिन्न राउन्ड पार गर्दै जाने भएकाले कुन टोली कोसँग खेल्छन् भन्न सकिन्न। तर भाग्यको कुरा पनि हो।’ 

उनको अनुमान कि इंग्ल्यान्ड कि इटाली विजेता बन्नेमा छ। 

‘अहिलेसम्मको प्रदर्शनलाई हेर्ने हो भने इटाली र इंग्ल्यान्ड नै युरोकपको फाइनलमा खेल्छन् जस्तो लागेको छ’, मिश्र भन्छन्, ‘तर एउटा टोली रोज्ने बेलामा इंग्ल्यान्डले जित्छ जस्तो लागेको छ।’ 

अहिलेसम्मको खेलमा इंग्ल्यान्डले बलियो टोलीलाई पराजित गर्दै यहाँसम्म आएकोले उनले विजेता पनि उही हुने अनुमान गरेका हुन्। 

बेल्जियमले जित्ला भनेको बाहिरियो, अब इंग्ल्यान्डले जित्ला
(दिपक विष्ट : तेक्वान्दो, ओलम्पियन)  


यता तेक्वान्दोका चर्चित ओलम्पियन खेलाडी दिपक विष्ट पनि अब इंग्ल्यान्डले नै जित्ने अनुमान गर्छन्। 

‘युरोकप हेरिरहेको छु। बेल्जियमले जित्ला भनेर समर्थन गरेको थिए’, उनले भने, ‘तर क्वार्टरफाइनलमा हार्यो दुःख लागेको छ।’  

फुटबल विश्लेषक मिश्रलाई जस्तै उनलाई पनि अब युरोकपको फाइनलमा इटाली र इंग्ल्यान्ड भिड्छन् जस्तो लागेको छ। 

‘तर उपाधि इंग्ल्यान्डले जित्छ होला। स्कोर अनुमान गर्ने हो भने २–१ होला’, विष्टको अनुमान छ।  

इंग्ल्यान्डले जित्छ  
(हरि खड्का : फुटबल, पूर्वकप्तान तथा प्रशिक्षक)


त्यस्तै, नेपाली फुटबलको चर्चित नाम हरि खड्का पनि युरोकप सेमिफाइनलसम्म आइपुग्दा इंग्ल्यान्डले नै जित्ने बताउँछन्। 

‘हामी खेलाडी भएको हिसाबले कुन टिमले कसरी खेल्छ भनेर टेक्निकहरु हेर्ने र के सिकिन्छ भनेर खेलहरु हेरिरहेको छु’, उनले भने, ‘विशेष गरेर कोचको रणनीति, खेलाडीको खेल्ने तरिकालाई नियालिरहेको छु। टिमको फर्मेसनलाई ध्यानमा राखेर खेल हेरिन्छ।’  

यो पटक युरोकपमा इंग्ल्यान्डले राम्रो गरिरहेकोले फाइनलमा पनि यही टोली पुग्ने अनुमान गर्छन् खड्का। 

‘तर अहिलेसम्म्को खेललाई हेर्ने हो भने इटाली र इंग्ल्यान्ड फाइनलमा खेल्छन् जस्तो लाग्छ’, उनले भने, ‘इंग्ल्यान्डले अहिलेसम्म गोल खाएको छैन। त्यसैले पनि इंग्ल्यान्डले जित्छ जस्तो लाग्छ।’ 

स्कोर अनुमान गर्न सक्दिन, उपाधि इंग्ल्यान्डले जित्छ 
(सावित्रा भण्डारी :फरवार्ड, राष्ट्रिय फुटबल टोली) 


यता राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी यसपटकको युरोकपको उपाधि इंग्ल्यान्डले जित्ने बताउँछिन्। 

‘मैले सुरुवातमा पोर्चुगलको समर्थन गरेको थिएँ। तर पोर्चुगल प्रि– क्वार्टरफाइनल चरणबाट नै बाहिरियो’, उनले भनिन्।  

अहिलेसम्मको खेललाई हेर्ने हो भने युरोकपको फाइनलमा इंग्ल्यान्ड र इटाली भिड्ने देखिएको उनको भनाइ छ। 

उनले भनिन्, ‘उपाधि भने इंग्ल्यान्डले जित्छ जस्तो लागेको छ। स्कोर भने अहिले नै अनुमान लगाउन सकिँदैन।’  

फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्छन्  
(
एञ्जिला तुम्बापो सुब्बा : गोलरक्षक, राष्ट्रिय फुटबल टोली) 


राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो पनि पोर्चुगलको समर्थक हुन्। 

तर पोर्चुगल अन्तिम १६ बाट अगाडि बढ्न नसकेपछि एञ्जिलाले जर्मनीलाई समर्थन गरिन्। 

तर जर्मनी पनि राउण्ड अफ १६ बाट अघि बढ्न सकेन। 

उनले भनिन्, ‘जुन जुन टोलीलाई समर्थन गरेको थिएँ, ती सबै बाहिरिसके। अब इंग्ल्याण्डलाई समर्थन गरेको छु।’ 

तर अरुको भन्दा उनको अनुमान अलिक फरक छ। 

युरोकपको फाइनलमा इंग्ल्यान्ड र स्पेन भिड्ने उनको अनुमान छ। 

उनी भन्छिन्, ‘आफूले समर्थन गरेको कारण इंग्ल्यान्डले उपाधि जितोस् भन्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .