समाज


सात दिने तालिमले सुरु गरेको फूलखेतीबाट आठ लाख कमाइ

सात दिने तालिमले सुरु गरेको फूलखेतीबाट आठ लाख कमाइ

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार १२:१, काठमाडौँ

सात दिने तालिम लिएर सुरु गरेको फूलखेतीबाट कैलालीकी सुशीला विष्टले वर्षमा आठ लाख कमाउने गरेकी छन्।

कैलालीको धनगढी उपमहानगरपालिका-६ मटियारीकी विष्ट व्यावसायिक फूलखेती गर्दै आएकी छन्। फार्म दर्ता गरेर विगत दुई वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएकी उनले फूल बिक्रीबाट मनग्य आम्दानी गर्न भइरहेको बताइन्। 

उनी दुई बिघा जग्गा भाडामा लिएर व्यावसायिक फूलखेती गरिरहेकी छन्। फूलबाट वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार हुने गरेको उनले सुनाइन्। उनी भन्छिन्, ‘आम्दानी राम्रै हुन्छ। कामदार लगायत सबै खर्च कटाएर वार्षिक आठ लाखसम्म बचत हुन्छ।’

उनले बाह्रै महिना फूल उत्पादन गर्छिन्। यस वर्षको दशैं र तिहारमा मात्र १० लाख रुपैयाँ बराबरको कारोबार भएको विष्टले बताइन्।

उनी एक किलोग्राम फूल पाँच सय रुपैयाँसम्ममा बिक्री गर्छिन्। ‘मूल्य समयअनुसार फरकफरक हुन्छ,’ विष्टले भनिन्, ‘प्रतिकिलो एक सय ५० देखि पाँच सयसम्म र प्रतिमाला ६० देखि एक सयसम्ममा बिक्री हुन्छ।’

फूलकै आम्दानीबाट चार जनाको परिवार पालिएको उनको भनाइ छ। यसबाटै भएको आम्दानीले घरखर्च सहजै चलेको छ। बचत पनि राम्रै हुने उनले बताइन्। 

उनी धनगढी उपमहानगरपलिकाले दिएको फूलखेती सम्बन्धी सात दिने तालिम लिएर फूलखेतीमा लागेकी हुन्। उनको बारीमा सयपत्री, गुलाब, रजनीगन्धा, सूर्यमुखी, सुपारी लगायतका फूल उत्पादन हुन्छन्। 

उनले रोजजारी पनि सिर्जना गरेकी छन्। आठ जनालाई दैनिक ज्यालादारीमा काम लगाएकी छन्। प्रतिव्यक्ति ६ सयका दरले दैनिक ज्याला पाउने गरेको उनको भनाइ छ। 

फूलखेतीबाट राम्रै आम्दानी हुने भए पनि फूलको बीउ र मलखाद पाउन अप्ठ्यारो हुने गरेको उनको गुनासो छ। फूलखेतीका लागि कृषि विकास निर्देशनालय र धनगढी उपमहानगरबाट प्लास्टिक टनेल, सिँचाइ बोरिङ, थोपा सिँचाइमा अनुदान समेत पाएको बताइन्। फूलखेतीको पनि बिमा भएमा किसानलाई सहज हुने उनको भनाइ छ। (रासस)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad