अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी तथा सदस्यहरूको वैदेशिक भ्रमणमा अवरोध नगर्न उच्च अदालत पाटनले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशहरू गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले आज (शुक्रबार) यस्तो आदेश दिएको हो।
जेठ २६ गते विश्वकप फुटबल हेर्न अमेरिका जान लागेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइ दिएको थियो।
त्यसपछि उनीहरूले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप), गृह सचिव, अध्यागमन विभागलाई विपक्षी बनाएर निवेदन दिएका थिए।
एन्फाका पदाधिकारी तथा सदस्यहरूलाई अन्तर्राष्ट्रिय सहभागिता (वैदेशिक भ्रमण) रोक्का गरिदिनका लागि अद्यागमन विभागमा पत्राचार गरिदिन अनुरोध गर्दै राखेपले खेलकुद मन्त्रालयलाई पत्र लेखेको थियो।
अदालतले सो पत्रलगायत विभिन्न निकायमा भएका पत्राचारहरू तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।
Shares

प्रतिक्रिया