ad ad

समाज


सन्दीपको मुद्दामा आज आउला त फैसला?

सन्दीपको मुद्दामा आज आउला त फैसला?

नेपालखबर
जेठ २, २०८१ बुधबार ७:२१, काठमाडौँ

जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज (बुधबार) जवाफी बहस हुँदै छ। 

सन्दीप पक्षका अधिवक्ता सरोजकृष्ण घिमिरीले आज जवाफी बहस सकिने र फैसला आउने दाबी गरे। 

‘आज जवाफी बहस सकिन्छ, फैसला आउँछ’, उनले भने। 

उनका अनुसार आज जाहेरीवाला पक्षबाट ३ र सन्दीप पक्षबाट ३ अधिवक्ताले बहस गर्ने सम्भावना छ।  

सन्दीपको मुद्दामा मंगलबारदेखि उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सुनुवाइ भइरहेको हो। 

मंगलबार सुरुमा सन्दीपका वकिलले बहस गरे भने यसपछि जाहेरीवालाका तर्फबाट सरकारी वकिल र निजी वकिलले बहस गरे।

तर जवाफी बहस बाँकी बसेकाले सो मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।

गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ।

उक्त फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका हुन्। 

उता पीडित पक्षका तर्फबाट पनि किशोरी नाबालिग नै रहेको जिकिर गर्दै सन्दीपलाई अझ बढी सजाय हुनुपर्ने माग गरी पुनरावेदन परेको छ।

दुवै पुनरावेदनलाई सँगै राखेर उच्च अदालत पाटनले मुद्दा सुनुवाइ गरिरहेको हो। 

उच्च अदालतले यसअघि जिल्ला अदालत काठमाडौँले गरेको फैसला बदर गरेमा सन्दीपले सफाइ पाउनेछन् भने सदर गरेमा जेल जानेछन्।

तर यसपछि पनि सन्दीपका लागि सर्वाेच्च अदालत जाने एउटा विकल्प बाँकी रहनेछ। 

जिल्ला अदालत काठमाडौँले सन्दीपलाई ८ वर्ष जेल सजायको फैसला सुनाएको छ।   

यस्तो छ जिल्ला अदालतको फैसला : गौशाला-२६ सँग प्रेम सम्बन्ध थिएन, पहिलो भेटमै सन्दीपले करणी गरे

यस्तो छ सन्दीको माग : सन्दीपको पुनरावेदनमा के लेखिएको छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .