समाज


क्रसर सञ्चालकले दुई दिनअघि मात्र धम्की दिएका थिए- छोरालाई सम्झाउनुस्, नत्र जिउमै टिपर चढाइदिन्छु

क्रसर सञ्चालकले दुई दिनअघि मात्र धम्की दिएका थिए- छोरालाई सम्झाउनुस्, नत्र जिउमै टिपर चढाइदिन्छु

शैलेन्द्र महतो
पुस २५, २०७६ शुक्रबार ७:३२,

शुक्रबार बिहानै हत्या गरिएका दिलीपकुमार महतोलाई केही दिनअघि मात्रै क्रसर सञ्चालकले टिपरले किचिदिने धम्की दिएको खुलासा भएको छ।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको बिहान साथीसँग मर्निङवाक गएका बेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो। घटनामा टिपर चालक फरार रहेको प्रहरीको भनाइ छ।

मिथिला नगरपालिका भित्रको अधिकांश नदी एवं खोलाहरुमा अवैध उत्खननको आतंक छ। गाउँ र चुरेलाई समेत जोखिम बढाउने गरी नदीजन्य गिट्टी बालुवा उत्खनन् भइरहेको छ।

यस्तो कार्यको विरुद्धमा गाउँले र स्थानीयबासीले पटकपटक स्थानीय सरकार र प्रहरी प्रशासनलाई गुहारेका थिए। तर, कसैले पनि उनीहरुको आवाज नसुनेको स्थानीयको भनाइ छ।

उल्टै क्रसर व्यवसायीले आवाज उठाउनेहरुलाई धम्की दिने गरेका थिए।

प्रहरी र स्थानीय सरकारको अकर्मण्यता र मिलेमतोका कारण व्यवसायी र टिपर सञ्चालकको आतंक झन्झन् बढ्दै गयो।

अवैध उत्खनन विरुद्धको अभियानलाई नेतृत्व दिइरहेका थिए दिलीपकुमार महतोले। उनलाई पनि चुप लागेर घरमा बस्न पटक पटक धम्की आइरहेको थियो। परिवारका अनुसार सबैभन्दाद बढी धम्की दिएका थिए, औरही खोलामा क्रसर सञ्चालन गर्ने गाउँकै विपीनकुमार महतोले। तर धम्कीको पर्वाह नगरी दिलीप यो अभियानमा सक्रिय रहे।

दिलीपका दाइ वीरेन्द्र महतोका अनुसार गएको बुधबार मात्रै दिलीपका बुबा रामजीवन महतोलाई ठेकेदार विपीनकुमार महतो धम्क्याउँदै भनेका थिए, ‘छोरालाई सम्झाइ दिनु। नत्र कुनै दिन जिउमै टिपर चढाइ दिन्छु।’

‘उत्खननविरुद्ध आवाज उठाउँदा ज्यानै गुमाउनु पर्‍यो,’ वीरेन्द्रले भने, ‘पहिलेदेखि नै क्रसर तथा टिपर मालिकहरुले विभिन्न प्रकारका धाकधम्की दिलीपलाई दिँदै आएका थिए। तर, भाइले त्यसको पर्वाह गरेन। अन्ततः उसको ज्यानै लिइयो।’

गाउँलाई नै जोखिममा पारेर दुवै खोलामा भइहेको अतिक्रमण विरुद्ध गाउँलेलाई दिलीपले नै जगाएका थिए। खोलामा भइरहेको उत्खनन विरुद्ध लागेका उनको समूह र टिपर र क्रसर चालकहरुको बेलाबेलामा विवाद पनि भएको थियो।

डेढवर्षअघि मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोको संलग्नतामा बसही खोलामा भएको अवैध उत्खनन र खोला अतिक्रमणको विरोधमा दिलीपकै नेतृत्वमा अभियान सञ्चालन भएको थियो। उनीहरुले जनकपुरबाट पत्रकार टोली बोलाएर घटनाको भण्डाफोर गरेका थिए।

स्थानीय जग्गा ठेकेदार राजाराम महतोले ढल्केबरको पूर्वमा रहेको बसही खोला अतिक्रमण गरेको जानकारी पनि उनीहरुले दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .