समाज


अवैध उत्खनन् रोक्न गएका दिलीपलाई कुटपिट गरी हत्या गरिएको खुलासा

अवैध उत्खनन् रोक्न गएका दिलीपलाई कुटपिट गरी हत्या गरिएको खुलासा

शैलेन्द्र महतो
पुस २५, २०७६ शुक्रबार ११:२०,

जनकपुरको मिथिला नगरपालिकाका युवक दिलीपकुमार महतोलाई टिपरले कुल्चनुअघि उनीमाथि कुटपिट भएको रहस्य सार्वजनिक भएको छ।

चुरियामाई बालुवा प्रशोधन उद्योगले अवैध उत्खनन् गरिरहेको थाहा पाएर रोक्नकै लागि छिमेकी साथी रोशनलाई लिएर उत्खनन्स्थल पुगेका दिलीपमाथि पहिला कुटपिट गरिएको र त्यसपछि टिपरले किचाएर हत्या गराइएको रहस्य सार्वजनिक भएको हो।

शोकाकुल दिलीपका आफन्त।

 मिथिला नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष श्यामबाबु यादवले शुक्रबार बिहान ४ बजेतिर आफूलाई दिलीपले फोन गरेको र उत्खनन् रोक्दा आफूमाथि कुटपिट भइरहेको भन्दै फोन गरेको बताए। उनले दिलीपको फोन आउनासाथ आफू दौडेर घटनास्थल पुग्दा त्यहाँ अरु कोही पनि नभएको र उनको हत्या भइसकेको देखेको बताए।

‘बिहान करिब चार बजेरतिर दिलीपले मलाई फोन गरेर उत्खनन् भइरहेको र रोक्न खोज्दा आफूमाथि कुटपिट भएको बताएका थिए’, नेपालखबरसँग कुरा गर्दै वडाध्यक्ष यादवले उनले भने, ‘त्यसपछि म पुग्दा उनको हत्या भइसकेको थियो र रोशनबाहेक अरु कोही पनि त्यहाँ थिएनन्।’

घटनास्थलमा अध्ययन गर्दै प्रहरी

उनले प्रहरीले मुचुल्का नउठाई दिलीपको शव उठाएर लगेको बताए। ‘मैले खबर गरेपछि प्रहरीको टोली आयो र मुचुल्का पनि नउठाइ दिलीपको शव लिएर गयो’, उनले भने।

दिलीपलाई पहिले नै कुटपिट गरी हत्या गरिएको र त्यसपछि टिपरले कुल्चाइएको परिवार र स्थानीयहरुले आरोप लगाउँदै आएका छन्। वडाध्यक्षले पनि दिलीपले आफूलाई फोन गरी कुटपिट गरिएको बताएका छन्। घटनाको प्रकृति हेर्दा पनि शंकास्पद देखिएको  प्रहरीले समेत जनाएको छ।

दिलीपका दाइ वीरेन्द्र महतोका अनुसार गएको बुधबार मात्रै दिलीपका बुबा रामजीवन महतोलाई ठेकेदार तथा क्रसर  उद्योगका सञ्चालक विपीनकुमार महतो धम्क्याउँदै भनेका थिए, ‘छोरालाई सम्झाइ दिनु। नत्र कुनै दिन जिउमै टिपर चढाइ दिन्छु।’

चुरियामाइ बालुवा प्रशोधन उद्योग

 'उत्खननविरुद्ध आवाज उठाउँदा ज्यानै गुमाउनु पर्‍यो,’ वीरेन्द्रले भने, ‘पहिलेदेखि नै क्रसर तथा टिपर मालिकहरुले विभिन्न प्रकारका धाकधम्की दिलीपलाई दिँदै आएका थिए। तर, भाइले त्यसको पर्वाह गरेन। अन्ततः उसको ज्यानै लिइयो।’

दिलीपको हत्या गर्ने टिपर पनि चुरियामाइ बालुवा प्रशोधन उद्योगको ग्यारेज भेटिएपछि उनको हत्या सुनियोजित रहेको पुष्टि हुन्छ। प्रहरीले आइतबारै दिलीपलाई कुल्चने ना ७ ख ६४१३ नम्बरको टिपरका चालक मुनिन्द्र महतोलाई ढल्केबरबाट पक्राउ गरेको छ। उनको अहिले वयान लिने कार्य भइरहेका प्रहरीले जनाएको छ।

दिलीपको शवको अहिले जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टम भइरहेको छ।

याे पनि : क्रसर सञ्चालकले दुई दिनअघि मात्र धम्की दिएका थिए- छोरालाई सम्झाउनुस्, नत्र जिउमै टिपर चढाइदिन्छु

अवैध उत्खननको विरोध गर्ने दिलीपलाई किचेर मार्ने टिपर चालक पक्राउ

आफन्त भन्छन् : दिलीपको हत्या प्रहरीकै संलग्नतामा

खोला अवैध उत्खननको विरोध गर्ने युवकको एकाबिहानै टिपरले किचेर हत्या

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .