समाज


के हो रवि लामिछानेलाई भएको ‘सेलुलाइटिस’?

‘समयमै उपचार नगरिए रगत, हड्डी र मांसपेशीमा संक्रमण हुन सक्छ’
के हो रवि लामिछानेलाई भएको ‘सेलुलाइटिस’?

प्रज्ञा तिम्सिना
माघ १४, २०८२ बुधबार १४:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशको राजधानी जनकपुरधाममा माघ ५ गते फागुन २१ को चुनावलाई लक्षित गर्दै ‘परिवर्तन उद्घोष सभा’ आयोजना गरेको थियो। सभालाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले सम्बोधन गरेका थिए।

त्यसपछि फर्किने क्रममा लामिछानेको देव्रे खुट्टामा चोट लाग्यो। भीडमा हिँड्दा लागेको चोटलाई उनले सामान्य माने। तर दुःखाइ बढिरहेको थियो। जनकपुरबाट उनी आफनो निवार्चन क्षेत्र चितवन गए। दुख्न छाडेन। झन् बढ्न थालेपछि चिकित्सकको सल्लाहमा घाउ सुकाउन एन्टिबायोटिक औषधि खाए। 

औषधिले पनि काम गरेन। दुखाइ रोकिएन, घाउ सुन्निन थाल्यो। खुट्टा रातो भयो। 

चोट लागेको ९ दिनपछि उनी त्रिवि शिक्षण अस्पताल पुगे। चिकित्सकले खुट्टाको संक्रमण बढ्दै गएर ‘सेलुलाइटिस’ भएको बताए। उनले अस्पतालमा नै केही दिन बसेर उपचार गराउनुपर्ने भयो। 

चिकित्सककै परामर्शमा उनी मंगलबार अस्पताल भर्ना भएका छन्। उनको हाडजोर्नी विभागमा उपचार भइरहेको छ। नशाबाट एन्टिबायोटिक औषधि दिएर उपचार भइरहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ। 

चिकित्सकले नशाबाट एन्टिबायोटिक औषधि दिएका कारण केही दिन अस्पतालमा नै राखेर उपचार गर्ने अस्पतालको भनाइ छ।

के हो सेलुलाइटिस? 
हाडजोर्नी रोग विशेषज्ञ डा. रामकृष्ण दाहालका अनुसार सेलुलाइपटिस भनेको छाला र छालाभन्दा भित्रको बोसोमा हुने संक्रमण हो। 

सेलुलाइटिस सामान्यतया चोट पटक लागेर  हुने गर्छ। चोटपटकपछि छालामा बाहिरी किटाणु प्रवेश गर्‍यो भने यो समस्या देखिन्छ। 

चोटपटकपछि छालामा बाहिरको किटाणु भित्र संक्रमण भएर हुने गर्छ। छालाको संक्रमण बढ्दै गए अस्पतालमा नै राखेर उपचार गराउनुपर्ने डाक्टर दाहाल बताउँछन्। 

चिकित्सकहरूका अनुसार सेलुलाइटिस भएको स्थानमा छाला रातो, सुन्निएको, तातो र दुख्ने लक्षण देखिन्छ। कतिपय अवस्थामा ज्वरो आउने, थकान महसुस हुने तथा संक्रमण फैलिँदै जाँदा छालामा रातो हुदै जाने, पिप जम्ने र छाला कस्सिएजस्तो देखिन सक्छ।

यो रोग एन्टिबायोटिक औषधिबाट पूर्ण रुपमा निको बनाउन सकिने रोग हो। यदि समयमा नै एन्टिबायोटिक औषधिमार्फत उपचार भएन भने संक्रमण रगतमा फैलिने जोखिम हुने उनीहरुको भनाइ छ। 

यसको लागि ५ देखि ७ दिन नशाबाट एन्टिबायोटिक औषधि दिएर उपचार गर्नुपर्छ। रगतमा संक्रमण फैलिन नदिन नै सेलुलाइटिस भएका बिरामीमा नशाबाट औषधि दिनुपर्छ। 

चिकित्सकका अनुसार खुट्टालाई हल्का उचाइमा राखेर आराम दिनुपर्छ। सेलुलाइटिस भएका बिरामीलाई खुट्टालाई आराम दिएर उपचार गराउनुपर्छ।  

डा दाहालले भने, ‘सेलुलाइटिस समयमा उपचार गरिएन भने खतरनाक हुन्छ। उपचार नभए संक्रमण शरीरमा फैलिँदै गएर मृत्यु हुने सम्भावना पनि हुन्छ।’ 

संक्रमण रगतमा फैलिएर ‘सेप्सिस’ भएर मृत्यु हुने जोखिम हुने उनको भनाइ छ। 

छालाबाट सुरु भएको संक्रमण रगतमा फैलियो भने निकै जोखिमयुक्त हुने हुँदा सो समयमा आईसीयू, भेन्टिलेटरमा नै राखेर उपचार गराउनुपर्छ। समयमै उपचार नगरिएमा सेलुलाइटिस रगतमा फैलिन सक्ने (सेप्सिस), हड्डी तथा मांसपेशीमा संक्रमण पुग्नेजस्ता जटिल अवस्था निम्तिन सक्ने चिकित्सकहरूको भनाइ छ। 

विशेषगरी मधुमेहका बिरामी, प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्ति, वृद्धवृद्धा बालबालिकामा यसको जोखिम बढी देखिने गरेको छ। 

सेलुलाइटिस मधुमेह, मिर्गौलाजस्ता दीर्घरोग लागेका व्यक्ति बढी जोखिममा हुन्छ। ५ देखि ७ दिन नशाबाट एन्टिबायोटिक औषधि दिनुपर्छ। औषधि अवस्थाअनुसार ७ दिनदेखि अझै लामो समयसम्म पनि खानुपर्ने हुन सक्छ। 

सेलुलाइटिसको उपचार प्रायः एन्टिबायोटिक औषधिबाट गरिने भएकाले प्रारम्भिक चरणमै उपचार सुरु गरेमा पूर्ण रूपमा निको हुने चिकित्सकहरू बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad