समाज


गगन थापा उम्मेदवार बनेको सर्लाही ४ सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा

मतदाता एक लाख २१ हजार १२ जना
गगन थापा उम्मेदवार  बनेको सर्लाही ४ सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा

नेपालखबर
माघ ११, २०८२ आइतबार १३:२३, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेको सर्लाही जिल्लाको क्षेत्र नम्बर ४ सुरक्षाको दृष्टिले अति संवेदनशील सूचीमा छ। 

२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सर्लाहीमा तोकिएका मतदानस्थलमध्ये ९२ प्रतिशतभन्दा बढी ठाउँ संवेदनशील सूचीमा छन्।

जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार क्षेत्र नम्बर ४ मा ८१ वटा मतदानस्थल छन्। यी सबै मतदानस्थललाई सुरक्षाको हिसाबले अति संवेदनशील सूचीमा राखिएको छ। 

तीमध्ये केही मतदानस्थलको शनिबार दिउँसो जिल्ला सुरक्षा समितिका पदाधिकारीले निरीक्षण गरेका छन्। 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, नेपाली सेनाका प्रमुख सेनानी उमेश खड्का, प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलगायतले सर्लाही ४ का केही मतदानस्थलको निरीक्षण गरेका हुन्। 

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका पुराना नेता अमरेश सिंह स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका थिए।  

त्यतिबेला कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए। यसपटक उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका छन्।

सर्लाहीका चार निर्वाचन क्षेत्रमा कुल ३ सय १२ मतदानस्थल अन्तर्गत ६२८ मतदान केन्द्र कायम गरिएको छ। त्यसमध्ये १ सय ५८ वटा मतदान स्थललाई अति संवेदनशील तथा १ सय ३१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ। 

जिल्लाभरि २३ वटा मतदानस्थल मात्र सामान्य सूचीमा रहेका जिल्ला सुरक्षा समितिले जनाएको छ। 

जिल्ला सुरक्षा समितिले भौगोलिक विकटता, नेपाल–भारत सीमा नजिक मतदान स्थल, विगतका निर्वाचनमा दलबीच भएका झडप तथा अपराधिक क्रियाकलापका आधारमा सर्लाही ४ का मतदानस्थललाई अति संवेदनशील स्थानमा राखेको हो। 

अति संवेदनशील र संवेदनशील मतदानस्थललाई सोहीअनुरुप सुरक्षा घेरामा राखेर भयरहित वातावरणमा निर्वाचन गराउने योजना बनाइएको सुरक्षा समितिका प्रमुख तथा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कडरियाले बताए। 

सर्लाही ४ मा एक लाख २१ हजार १२ जना मतदाता छन्। त्यसैगरि सर्लाही १ मा एक लाख ३० हजार ८७१, २ मा एक लाख २५ हजार ३११ र ३ मा एक लाख ३४ हजार ४१२ मतदाता छन्। 

यसपटक सर्लाहीमा दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ अन्यसहित पाँच लाख ११ हजार ६०६ जना मतदाताले मतदान गर्नेछन्। 

यस निर्वाचनमा सर्लाहीमा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad