सर्लाहीको लालबन्दी-२ स्थित पद्म भुवनेश्वरी नमुना वृद्ध सेवाश्रमका संस्थापक अध्यक्ष वासुदेव शरण कोइरालाको निधन भएको छ।
आज बिहान चार बजे ९३ वर्षको उमेरमा उनको निधन भएको संस्थाकी अध्यक्षसमेत रहेकी उनकी छोरी भवानी कोइरालाले जानकारी दिइन्।
कोइराला कांग्रेसका पुराना नेतासमेत हुन्। उनले कांग्रेसका संस्थापक अध्यक्ष बीपी कोइरालासँगै नेपाली कांग्रेसको राजनीति सुरु गरेका थिए।
विगत केही वर्षदेखि असक्त रहेका कोइरालाको आज बिहान आश्रममै निधन भएको हो।
अहिले आश्रममै पुगेर नेपाली कांग्रेसका नेताकार्यकर्तासँगै समाजका विभिन्न क्षेत्रका प्रतिनिधिले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।
यसअघि नै कोइरालाले आफ्नो शरीर सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत चिकित्सा शिक्षाका विद्यार्थीलाई प्रदान गर्ने घोषणा गरेका थिए।
सोही अनुसार केही बेरमै उनको शरीर धरान लगिने छोरी भवानीले बताइन्।
७० वर्षसम्म कांग्रेसको सक्रिय राजनीति गरेका कोइराला तीन कार्यकाल कांग्रेस सर्लाहीको सभापति पनि भएका थिए। उनी कांग्रेस निकट किसान संघको केन्द्रीय अध्यक्षसमेत बनेका थिए।
उनकी पत्नी, एक छाेरा र तीन छाेरी छन्।
Shares

प्रतिक्रिया