समाज


जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

जनकपुरमा विवाहपञ्चमी महोत्सव सुरु, आज नगरदर्शन

नेपालखबर
मंसिर १६, २०८१ आइतबार ७:२१, जनकपुरधाम

जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत सुरु भएको छ। 

त्रेता युगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ।

सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ। दोस्रो दिन भोलि सोमबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तीलकोत्सव, पाँचौ दिन मङ्सिर २० गते मटकोर र मङ्सिर २१ गते रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ।

महोत्सवको अन्तिम दिन मङ्सिर २ गते रामकलेवा गरी अयोध्याबाट जन्तीको रुपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ।

नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताए।

त्रेता युगमा भगवान् श्रीराम र जनकनन्दिनी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाउने प्रचलन छ। महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन्।

निर्विघ्नपूर्वक महोत्सव सम्पन्न गर्न जानकी मन्दिरमा सर्वदपक्षीय बैठक सम्पन्न भएको छ। विवाहपञ्चमी महोत्सवलाई भव्य रूपमा सम्पन्न गर्न सम्बद्ध सबैलाई जुट्न मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले आग्रह गरेका छन्।

हरेक वर्षझैँ यो वर्ष पनि विवाहपञ्चममीमा सहभागी हुन भारतको अयोध्याबाट प्रतीकात्मक रूपमा जन्ती आउने कार्यक्रम छ।

मुख्यमन्त्री सतीश सिंहका साथै विश्व हिन्दू परिषद्का पदाधिकारीले अयोध्यास्थित श्रीराम मन्दिरका पुजारीलगायत श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका अगुवालाई हालै अयोध्याको भ्रमण गरी विवाहपञ्चमीमा सरिक हुन आमन्त्रण गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad