विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ।
परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अध्यक्षतामा जनकपुरमा बिहीबार बसेको बैठकले जनकपुरधामबाट मङ्सिर १ गते बिहान तिलक लिएर प्रस्थान गर्ने र रात्रि विश्राम बाराको गढीमाईमा गर्ने निर्णय गरेको हो।
तिलक लिएर जाने समूह २ गते अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दू परिषद्का महासचिव राजेन्द्र सिंह पङ्कजको अगुवाइमा चम्पत रायलाई हस्तातरण गरिने छ।
विश्व हिन्दू परिषद्को सक्रियतामा विगत वर्ष झै यस वर्ष पनि सामूहिक विवाह हुने छ। छैठौंँ पटक हुन लागेको सामूहिक विवाहमा ५१ जोडी युवायुवतीको सहभागिता रहने छ।
जनकपुरधामलाई धार्मिक पर्यटकीय नगरिका रुपमा विकासका लागि प्रचारप्रसार गरिने पंकजले बताए। यसैबीच जनकपुरधाममा मङ्सिर २१ गते हुने विवाहपञ्चमी मेलाको धुमधामका साथ तयारी भइरहेको छ।
त्यसका लागि मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका र जानकी मन्दिर व्यवस्थापन समितिले तयारी गरिरहेको छ। रासस
Shares

प्रतिक्रिया