महोत्तरी सदरमुकाम जलेश्वरमा नेपाल-भारत सीमा सुरक्षाका सम्बन्धमा दुई देशका सुरक्षा अधिकारीबीच छलफल भएको छ।
सोमबार जिल्ला प्रशासन कार्यालय महोत्तरीको आयोजनामा नेपाल-भारत सीमा जिल्ला समन्वय समितिको बैठक सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।
बैठकमा सीमा सुरक्षा र सीमा अपराध नियन्त्रण, सीमा स्तम्भको सुरक्षा, मानव बेचबिखन, मदिरा तथा लागु औषधको ओसारपसार नियन्त्रण, अबैध मुद्राको अपचलन नियन्त्रण, आपसी सहयोग तथा समन्वय लगायतका विषयमा छलफल भई एक आपसमा सूचना प्रवाह गर्ने सहमति भएको महोत्तरीका प्रहरी प्रमुख एसपी नकुल पोखरेलले जानकारी दिए।
बैठकमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, महोत्तरीको मठिहानी नगरपालिकाका मेयर हरी मण्डल, भारत सीतामढीका एसपी मनोजकुमार तिवारी, भारत सीतामढीका एमडी रिचि पान्डे, सीतामढीका एसडीएम संजिबकुमार सहभागी थिए।
त्यसैगरी बैठकमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रबिन्द्र कुमार सिंह, रौतहटका एसपी दिलिप घिमिरे, महोत्तरी, सर्लाही र रौतहटका सशस्त्र प्रहरीका प्रमुख, भन्सार कार्यालयका कार्यालय प्रमुख, मधेश प्रदेश अन्तर्गत तीनवटै जिल्लाका राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरुको सहभागिता थियो।
Shares

प्रतिक्रिया