ad ad

समाज


नभाँचिएको खुट्टोमा प्लास्टर गरेर बिरामीसँग ४० हजार असुल (भिडिओ)

नगरपालिकाको बैठकमा गएर राज हुसेनले भने- पर्दैन भन्दाभन्दै डाक्टरले जबर्जस्ती प्लास्टर गरिदिए हजुर!
नभाँचिएको खुट्टोमा प्लास्टर गरेर बिरामीसँग ४० हजार असुल (भिडिओ)

जनार्दन पोखरेल
असार ३१, २०८१ सोमबार १४:३०, काठमाडौँ

असार २० गते दिउँसो सर्लाहीको लालबन्दी नगरपालिकामा नगर कार्यपालिकाको बैठक बसिरहेको थियो। मेयर बासुदेव अधिकारी, उपमेयर कल्पना पाख्रिनसहित कार्यपालिका सदस्यहरु बैठकमा प्रस्तुत विभिन्न एजेन्डाहरुमाथि छलफलमा व्यस्त थिए। 

त्यही बेला खुट्टा प्लास्टर गरिएका एक युवक बैठक हलभित्र प्रवेश गरे। दाहिने खुट्टा प्लास्टर गरिएको भए पनि उनी ठमठम हिँडेरै बैठक कक्षमा प्रवेश गरेका थिए। त्यो देख्दा बैठकमा उपस्थित सबै जनप्रतिनिधिको ध्यान उनीप्रति केन्द्रीत भयो।  

‘मेरो नभाँचिएको खुट्टालाई भाँचिएको छ भन्दै डाक्टरले जबर्जस्ती प्लास्टर गरिदिए। ममाथि ठूलो अन्याय भयो हजुर!’ सर्लाहीकै हरिवन नगरपालिका- ५ घुर्कौलीका २२ वर्षीय राज हुसेनले पीडा मिश्रित गुनासो जनप्रतिनिधि समक्ष पोखे। 

प्लास्टर गरिएको खुट्टा टेकेरै उभिएका उनलाई जनप्रतिनिधिले कुर्सीमा बस्न आग्रह गरे। तर, उनले आफूलाई उभिँदा केही फरक नपर्ने बताए। ‘मलाई दुखेकै छैन। उभिन सक्छु,’ उनले प्लास्टर गरिएकाे आफ्नाे खुट्टो हल्लाउँदै भने। 

जनप्रतिनिधिको आग्रहपछि उनी कुर्सीमा बसे। केही जनप्रतिनिधि उनको नजिकै गए। प्लास्टर गरिएको खुट्टो छामछुम पारे। जनप्रतिनिधिले आफ्नो खुट्टो छाम्दै गर्दा उनले ‘जति छामे पनि मलाई दुख्दैन, छाम्ने मात्र होइन, थिच्दा पनि हुन्छ, दुख्दैन,’ भन्ने जबाफ दिए।   

‘नभाँचिएको खुट्टो किन प्लास्टर गर्न दिएको त?,’ मेयर अधिकारीले ती युवकलाई प्रश्न गरे। 

‘मैले प्लास्टर गर्न दिएको होइन हजुर! डाक्टरले जबर्जस्ती गरिदिएका हुन्,’ उनले थप स्पष्टीकरण दिँदै भने, ‘मेरो खुट्टा भाँचिएको छैन। प्लास्टर गर्नु पर्दैन भन्दा पनि ‘तिमी डाक्टर कि म डाक्टर? चुप लागेर बस, खुट्टाको हड्डी फुटेको छ। राम्ररी उपचार नगरे पछि अप्ठ्यारो हुन्छ’ भन्दै जबर्जस्ती यो प्लास्टर गरिदिएका हुन्।’ 

मनिषा हेल्थ केयरका डाक्टरले खुट्टाको हड्डी फुटेको भन्दै प्लास्टर गरिदिएपछि आफूले हरिवनमा रहेको नमूना अस्पतालमा गएर एक्स रे गरेको उनले सुनाए। नमूनाले हड्डीमा कुनै चोट नरहेको भनेर दिएको एक्स रे रिपार्ट पनि उनले जनप्रतिनिधिलाई देखाए। 
००००
असार १८ गते दिउँसो हुसेन आफ्नो बा ४६ प ९५४८ नम्बरको मोटरसाइकलमा पूर्वपश्चिम राजमार्ग हुँदै लालबन्दीबाट हरिवनतिर फर्किंदै थिए। उनको मोटरसाइकको पछाडि थिए- हरिवन- ५ घुर्कौलीकै २४ वर्षीय शेख कादिर। 

हुसेन र कादिर सवार मोटरसाइकललाई पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी- १ लखनदेही पुल नजिकै विपरित दिशाबाट आउँदै गरेको बा ८६ प ५८५७ नम्बरको मोटरसाइकलले ठक्कर दियो। 

हुसेन र कादिर सडकमा लडे। दुवैको शरीरमा सामान्य चोटपटक लाग्यो। दुर्घटना लगत्तै बा ८६ प ५८५७ नम्बरको मोटरसाइकलका चालक हरिवन- ११ निवासी ३० वर्षीय रुपेश चौलागाईं (लालबन्दी नगरपालिकाका योजना अधिकृत) ले उनीहरुलाई घटनास्थल नजिकै (नवलपुर)मा रहेको मनिषा हेल्थ केयरमा पुर्याए। 

मनिषा हेल्थ केयरका डाक्टर मुकेश साह ‘कतिबेला बिरामी आउँछन् र लुटौँला’ भन्ने प्रतिक्षामा थिए। ‘एस्सिडेन्ट’ भएर आएको भन्ने बित्तिकै उनले दुवै घाइतेलाई हतार-हतार अस्पताल भित्र पुर्याए। तुरुन्तै भर्ना गरेर ‘उपचार’ सुरु गर्न थाले। 

डाक्टर साहले दुवै घाइतेलाई एक्स रे, अल्ट्रासाउन्ड, ल्याब टेस्ट गर्न लगाए। अन्तिममा उनले राज हुसेनको दाहिने खुट्टाको हड्डी फुटेको निष्कर्ष निकाल्दै खुट्टाकाे घुँडामुनी प्लास्टर गरिदिए। साँझसम्ममा उनले उपचार सके। र, बिरामीको हातमा ४० हजार रुपैयाँको बिल थमाइ दिए। 

डाक्टरले प्लास्टरको तयारी गरिरहँदा हुसेनलाई ‘मेरो खुट्टो भाँचिएको अथवा हड्डी फुटेको भए त टेक्न नसक्नु पर्ने हो’ भन्ने लागिरहेको थियो। 

उनले आफूलाई धेरै नदुखेको कारण सामान्य औषधि लगाउँदा मात्रै पनि खुट्टाको घाउ बिसेक हुन सक्ने कुरा डाक्टर साहसँग गरेका पनि थिए। तर, बल्लबल्ल बिरामी फेला पारेका साहले उनीहरुका कुरै सुनेनन्। जबर्जस्ती सबै परीक्षणसहित खुट्टामा प्लास्टर नै गरिदिए। 

लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानी यो केसमा मनिषा हेल्थ केयरका डाक्टरको पूर्ण रुपमा बदनियत देखिने बताउँछन्। 

‘मोटरसाइकलबाट लड्दा थोरै दरफरिएको घाउलाई देखाएर त्यहाँका डाक्टरले हड्डी फुटेको भन्दै प्लास्टर गरेको देखिन्छ,’ उनले नेपालखबरसँग भने, ‘यो घटना सार्वजनिक भएपछि हामीले त्यो अस्पताललाई अनिश्चितकालका लागि बन्द गरेका छौँ।’ 

उनले सामान्य बेटाडिन लगाएर ठिक हुने घाउ लिएर गएको बिरामीलाई डाक्टर मुकेश साहले एक्स रे, अल्टासाउन्ड, ल्याब, प्लास्टरसहितको उपचारको नाममा ४० हजार रुपैयाँ असुलेको अनुसन्धानको क्रममा खुलेको जानकारी दिए। 

‘बिरामीले मलाई केही भएको छैन। म हिँड्न सक्छु। हड्डी भाँचिएको, फुटेको केही भएको छैन भन्दा पनि उनले एक्सीडेन्टको केसमा जति पनि पैसा असुल्न सकिन्छ भनेर नचाहिँदो उपचार  गरेको देखिन्छ,’ उनले भने, ‘सामान्य घाउमाथि प्लास्टर गरिएको रहेछ। हामीकहाँ आउँदा प्लास्टर गरिएको घाउ गुम्सिएर पाक्ने अवस्थामा पुगेको थियो।’

पछि लालाबन्दी नगर अस्पतालमा लगेर प्लास्टर काटिएको उनले बताए। तीन दिनमा प्लास्टर कादिएपछि बिरामी मज्जाले हिँड्न सकेको उनकाे भनाइ छ। ‘भाँचिएको अथवा फुटेको हड्डी तीन दिनमा जोडिँदैन, बिरामी तीन दिनमै ठमठमी हिँड्न पनि सक्दैन,’ उनले भने। 

लालबन्दीका मेयर बासुदेव अधिकारीले मनिषा हेल्थ केयर स्वीकृति नलिइ सञ्चालन भएको पाइएपछि बन्द गरिएको बताए। ‘अब प्रक्रिया पूरा नगरी मनिषा हेल्थ केयरलाई हामी चल्न दिँदैनौँ,’ उनले भने। 

लालबन्दी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुमताज मिकरानीले मनिषा हेल्थकेयरले स्वीकृति नलिइ बिरामीको अपरेसनसहितको उपचार गर्दै आएको बताए। 

‘अहिले हामीले बुझ्दा त्यो क्लिनिकको नविकरण पनि फेल रहेछ,’ मिकरानीले भने, ‘१५ शैय्याको अस्पताल सञ्चालनको लागि क्लिनक सञ्चालक डा.राजिब झाले नगरपालिकामा निवेदन दिएका रहेछन्। तर मापदण्ड नपुगेको कारण नगरपालिकाले अनुमति दिएको छैन।’ 

मनिषासँगै लालबन्दी नगरपालिकाले नवलपुरमै रहेको बीएण्डआर क्लिनकमा पनि तालाबन्दी गरेको छ। उक्त क्लिनिकका सञ्चालक पनि राजिब झा नै हुन्। सञ्चालक झा भने अहिले एमडी रेडियोलोजी गर्न चीन गएको पाइएको छ। 

‘यी दुवै क्लिनिक डाक्टर मुकेश साह रहेछन्। उनले कहिले यता, कहिले उता गरेर दुवै क्लिनिक चलाउँदै आएको पाइयो,’ मिकरानीले भने। 
 
लालबन्दी क्षेत्रमा गैर कानुनीरुपमा झण्डै एकदर्जन क्लिनिक सञ्चालनमा रहेको दाबी स्थानीयको छ। ‘कुनै पनि निकायबाट स्वीकृति नलिइ चलेका क्लिनिकलाई पनि नगरपालिकाले केही गरेको छैन,’ एक स्थानीयले भने, ‘त्यस्ता क्लिनिकले अवैध रुपमा मोटो रकम असुलेर गर्भपतन गराउने, एक्सीडेन्ट भएर जाने बिरामीसँग उपचारको नाममा लुट्ने काम हुँदै आएको छ।’

गलत उपचार गरेर रकम असुलेको भन्दै मनिषा हेल्थ केयरविरुद्ध हुसेन र कादिर दुवले लालबन्दी नगरपालिकामा उजुरी गरेका छन्।  

मोटरसाइकल दुर्घटनामा परेका दुइ घाइतेको उपचार गर्दै आएका चौलागाईंले पनि नभाँचिएको खुट्टो प्लास्टर गर्ने र अनावश्यक औषधि उपचार गरी बढी पैसा असुल गर्न खोज्ने डाक्टर साहमाथि कारबाहीको माग गर्दै नगरपालिकामा उजुरी दिएका छन्। 

त्यसैगरी लालबन्दी नगरपालिकाकी उपप्रमुख, वडाध्यक्ष, स्वास्थ्य शाखा प्रमुखसहित ८ जनाको समूहले पनि छानविन पछि हेल्थ केयरका डाक्टरमाथि कुटपिट नभएको प्रतिवेदन दिएका छन्। 

डाक्टर साहले पनि दिए उजुरी

राज हुसेनको उजुरीपछि लालबन्दी नगर कार्यपालिकाको बैठक छाडेर असार २० गते उपमेयर पाख्रिन, वडाध्यक्षहरु दुर्गा आले, गणेश थापा, शुक्र लामा, हरिहर भट्टराईसहितका जनप्रतिनिधि मनिषा हेल्थ केयरमा तालाबन्दी गर्न पुगेका थिए। त्यसक्रममा गलत उपचार गरेको भन्दै डा.मुकेश साहसँग उनीहरुको नोकझोक भएको थियो। 

त्यही निहुँमा डा.साहले लालबन्दी-८ का वडाध्यक्ष शुक्र लामा, १२ का वडाध्यक्ष दुर्गा आले र १८ का वडाध्यक्ष गणेश थापाविरुद्ध इलाका प्रहरी कार्यालय लालबन्दीमा उजुरी दिएका छन्। उनकाे उजुरीका आधारमा लालबन्दी इप्रकाले उनीहरुविरुद्ध पक्राउ पुर्जीसमेत जारी गरेको छ। 

‘अवैध रुपमा क्लिनिक सञ्चालन गरेर सोझाझिधा नागरिकलाई ठग्दै आएका क्लिनिक सञ्चालकमाथि छानविन गरेर कारबाही गर्नुको साटो स्थानीय प्रशासन क्लिनिक सञ्चालकलाई जोगाउने प्रयत्नमा लागेको छ,’ एक वडाध्यक्षले भने, ‘नत्र ती क्लिनिक सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्नुको साटो स्थानीय प्रशासनले हामीविरुद्ध पक्राउ पुर्जी जारी गर्ने थिएन।’

उनले स्वीकृती नलिइन सञ्चालन भएका र बिरामीको उपचारमा लापरबाही गर्ने क्लिनिक सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्नुपर्ने बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .