ad ad

समाज


हरिवन नगरपालिकाले तयार गर्‍यो जनस्वास्थ्य नीति

हरिवन नगरपालिकाले तयार गर्‍यो जनस्वास्थ्य नीति

नेपालखबर
असार ६, २०८१ बिहिबार १५:५८, काठमाडौँ

सर्लाहीको हरिवन नगरपालिकाले आफ्नो जनस्वास्वास्थ्य नीतिको मस्यौदा तयार गरेको छ। 

गैर सरकारी संस्था फेक्ट नेपाल र सिविन नेपालसँगकाे सहकार्यमा हरिवन नगरपालिकाले जनस्वास्थ्य नीतिको मस्यौदा बनाएको हो। 

बिहीबार काठमाडौँको कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमकामा फेक्ट नेपाल र सिविन नेपालले हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल)लाई जनस्वास्थ्य नीतिको मस्यौदा हस्तान्तरण गरे।

देशकै नाम कहलियका जनस्वास्थ्यविद् र हरिवनका सरोकारवाला स्थानीय जनसमुदाय समेतको सहभागितामा हरिवन र काठमाडौँमा भएका विभिन्न छलफल र अन्तरक्रियाका सुझावहरुलाईसमेत समेटेर हरिवन नगरपालिकाले जनस्वास्थ्य नीति तयार गरेको हो। 

त्यसका लागि झण्डै सात महिना समय लागेको मेयर बुढाथोकीले जानकारी दिए। उनले हरिवन नगरपालिकाले जनताको स्वास्थ्य उपचारको दायित्व लिने उद्देश्य राखेर जनस्वास्थ्य नीति तयार गरेको बताए।

‘यो नीति हामीले जनताको स्वास्थ्य उपचारको दायित्व नगरपालिकाले लिने उद्देश्य राखेर निर्माण गरेका हौँ,’ उनले भने, ‘संविधानको मर्मअनुसार घर छेउकै सरकारले जनताको स्वास्थ्य उपचारको दायित्त्व लिनुपर्छ। त्यो मर्मलाई यो जनस्वास्थ्य नीतिले सम्बोधन गरेको छ।’

उनले नगरवासी जनताको स्वास्थ्यलाई ध्यान दिएर हरिवन नगरपालिकाले स्थानीय स्वास्थ्य संस्थालाई सुविधायुक्त बनाउँदै लगेको बताए। ‘स्वास्थ्य उपचारसँगै हामीले नगर क्षेत्रका विभिन्न ठाउँमा योग र ध्यानका शिविर, चुरे क्षेत्रमा पदमार्ग र पार्कहरुसमेत निर्माण गर्दै गएका छौँ,’ मेयर बुढाथोकीले भने।

कार्यक्रममा फेक्ट नेपालका डा.शम्भु प्रसाद उपाध्यायले हरिवनको जनस्वास्थ्य नीति संविधानको मर्म, सामाजिक न्याय, अन्तर्राष्ट्रिय अभ्यास जस्ता विषयलाईसमेत ध्यानमा राखेर निर्माण गरिएको जानकारी दिए। 

‘जनताको आधारभूत स्वास्थ्यको दायित्व नगरपालिकाले लिनेगरी यो जनस्वास्थ्य नीति तयार भएको छ,’ उनले भने, ‘यो जनस्वास्थ्य नीतिले हरिवनको स्वास्थ्यका उपलव्धी, समस्या र चुनौतिलाई सम्बोधन गर्ने विश्वास मैले लिएको छु।’

कार्यक्रममा पाटन अस्पतालका प्राडा केदार बरालले हरिवन नगरपालिकाले तयार गरेको स्वास्थ्य नीति जनपक्षीय भएको बताए।

कार्यक्रममा फेक्ट नेपालका कार्यकारी निर्देशक गौरी प्रधानले देशकै राष्ट्रिय स्वास्थ्य नीति तयारी गर्न सक्ने विज्ञहरुको सहभागितामा हरिवन नगरपालिकाले आफ्नो जनस्वास्थ्य नीति तयार गरेको भन्दै प्रशंसा गरे। 

कार्यक्रममा सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले जनस्वास्थ्य नीति तयार गरेर हरिवन नगरपालिकाले देशैभरीका स्थानीय पालिकाहरुका लागिसमेत उदाहरणीय काम गरेको बताइन्। 

हरिवन नगरवासीसमेत रहेका सिविनका कार्यक्रम संयोजक कुमार भट्टराईले हरिवनको जनस्वास्थ्य नीति कार्यान्वयनमा सिविन र फेक्ट नेपालले पछिसम्म पनि सहकार्य गर्दै जाने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .