ad ad

समाज


हरिवनको जनस्वास्थ्य नीति निर्माण गर्न काठमाडौँमा अन्तरक्रिया

हरिवनको जनस्वास्थ्य नीति निर्माण गर्न काठमाडौँमा अन्तरक्रिया

नेपालखबर
जेठ १४, २०८१ सोमबार ९:४९, काठमाडौँ

सर्लाहीको हरिवन नगरपालिकाले जनस्वास्वास्थ्य नीति निर्माणको लागि काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरेको छ। 

आइतबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा हरिवन नगरपालिकाका मेयर कमल बुढाथोकीले हरिवनको जनस्वास्थ्य नीति निर्माणमा सुझाव दिन सरोकारवाला सबैलाई आह्वान गरे। 

गत वर्ष हरिवन मधेस प्रदेशर्म जनस्वास्थ्यको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा मधेश प्रदेस सरकारबाट सम्मानित भएको थियो। ‘हाम्रो नगरपालिका जनस्वास्थ्यका क्षेत्रमा गरेका कामको आधारमा मधेस प्रदेशमै राम्रो काम गर्ने पालिकाका रुपमा सम्मानित भएको छ,’ मेयर बुढाथोकीले भने, ‘अब हामी पालिकाको जनस्वास्थ्य नीति नै निर्माण गरेर नागरिकको जनस्वास्थ्यमा थप काम गर्ने पक्षमा छौँ।’

हरिवनमा स्थायी बसोबास भइ काठमाडौँमा बसेर विभिन्न पेसा व्यवसायमा संलग्न हुँदै आएका झण्डै एक सयजना कार्यक्रममा सहभागी थिए।

भविष्यमा नगरपालिकाको नेतृत्वमा जुनसुकै राजनीतिक दल र व्यक्ति पुगे पनि तर्जुमा गरिएका नीतिका आधारमा कार्यक्रम अघि बढाउने भएकाले पालिकाले जनस्वास्थ्य नीति निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बुढाथोकीले बताए। 

कार्यक्रममा सहभागीले जनस्वास्थ्य नीतिमा समेट्नुपर्ने विभिन्न सुझावहरु दिएका छन्। 

पूर्वपश्चिम–राजमार्ग हरिवन नगरपालिकाको बीच भाग भएर जाने भएकाले यातायात मात्र नभई तरकारी र फलफूल उत्पादन तथा हावापानीका दृष्टिले पनि हरिवन अनुकूल छ। 

हरिवन नगरपालिको जनसङ्ख्या करिब ५२ हजारको हाराहारीमा रहेको तथ्याङ्क छ। हरिवनमा दनुवार, थामी, मुस्लिम, तामाङ, मधेसीलगायत अरु समुदायको बसोबास पनि सघनरुपमा रहिआएको छ।

नगरपालिकाले जनस्वास्थ्य नीतिमा सबै नागरिकको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहोस् भन्ने हेतुले सार्वजनिक सुनुवाइ र छलफलका माध्यमबाट सुझाव सङ्कलन गरिएको छ। 

अहिलेसम्म हरिवन र काठमाडौँमा चारवटा कार्यक्रममार्फत् नागरिकबाट सुझाव संकलन गरिएको हरिवन ८ का वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक समितिका संयोजक प्रज्वल ढुंगानाले जानकारी दिए। 

नगरपालिकाले नयाँ बन्ने जनस्वास्थ्य नीतिका सम्बन्धमा चिकित्सक, महिला स्वयमंसेविका, महिला सङ्गठन, मजदुर, किसान, राजनीतिक पार्टीका प्रतिनिधि, विद्यार्थी, विभिन्न सङ्गठनका प्रतिनिधि, कर्मचारी, शिक्षक र पूर्वजनप्रतिनिधिसँग छलफल गरिसकेको छ। 

पालिकाले सबैबाट प्राप्त सुझावलाई निष्कर्षमा पु¥याउन पूर्व स्वास्थ्य राज्यमन्त्री डा.भरत प्रधानसहितका विशेषज्ञ चिकित्सकसँग समेत छलफल गरी जनस्वास्थ्य नीति तयार गर्ने योजना बनाएको छ। 

अहिलेसम्म मुलुकमा सङ्घीय सरकार, कोशी र लुम्बिनी प्रदेश तथा कर्णालीका केही पालिकाले पनि स्वास्थ्य नीति बनाई कार्यान्वयनमा ल्याएका छन्। 

स्वास्थ्य नीति निर्माणमा धेरैभन्दा धेरैको सहभागिता भए नीति दीर्घजीवी हुने र महत्वपूर्ण विषयवस्तु पनि समेटिने मेयर बुढाथोकीले बताए।

हरिवन नगरपालिकाको जनस्वास्थ्य नीति बनाउन फेक्ट नेपाल र सिविन नेपाल नामक गैरसरकारी संस्थाले पनि सहयोग पुर्‍याइरहेका छन्।

‘राज्यले तोकेको ९८ प्रकारका औषधि निःशुल्करुपमा स्थानीय तहले उपलब्ध गराउनुपर्छ भन्ने नीतिलाई हामीले कार्यान्वयन गरिरहेका छौँ,’ मेयर बुढाथोकीले भने।

हरिवन नगरपालिकाले विभिन्न रोगसँग सम्बन्धित १० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकमार्फत स्थानीय स्वास्थ्य चौकीमै बिरामीलाई परीक्षण गर्ने व्यवस्था गर्दै आएको जानकारी उनले दिए। 

नगरपालिकाले स्थानीय सरकारी स्वास्थ्य संस्थामा गुणस्तरीय ल्याब सेवा, भिडियो एक्सरे, महिलाको पाठेघरको क्यान्सर परीक्षण र सेक्ने उपकरणसमेतको व्यवस्था गरेको छ। 

हरिवन पालिकास्तरको १५ श्ययाको अस्पताल निर्माण अन्तिम चरणमा छ। डटस् कार्यक्रममार्फत मुलुकभर क्षयरोगको व्यवस्थित र प्रभावकारी उपचार गर्ने पालिकाका रुपमा हरिवन सम्मानित भइसकेको छ। 

पालिकाले गत वर्ष मानसिक स्थास्थ्य परीक्षण सम्बन्धित तीन दिने स्वास्थ्य शिविर पनि सञ्चालन गरेको थियो। यस वर्ष पनि यही जेठ १८, १९ र २० गते बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी अघि बढाइएको मेयर बुढाथोकीले बताए। 

कार्यक्रममा मनोविद् पद्मप्रसाद घिमिरेले भने, ‘जन स्वास्थ्य भनेको उपचार मात्र नभई वातावरण र परिस्थितिसँग पनि जोडिन्छ। प्रभावकारी उपचारका लागि गुणस्तरीय औषधि, विश्वासिलो चिकित्सा सेवा पर्छन्।’

कार्यक्रममा सहभागी धेरैले जनस्वास्थ्य नीतिमा योग ध्यान, व्यायाम, विषादीरहित खानपान, वातावरण प्रदूषण नियन्त्रण, फोहोर मैलाको उचित व्यवस्थापन लगायतका विषयलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन्। 

त्यसैगरी स्वास्थ्य नीतिमा अनिवार्य स्वास्थ्य बिमा, दर्पदंशको प्रभावकारी उपचारको लागि स्थानीय स्तरमै सुविधायुक्त अस्पताल निर्माण, सबै स्कुल कलेज र गाउँगाउँमा स्वास्थ्य सचेतनासँग सम्बन्धि कार्यक्रम लगायतका विषय समेट्नुपर्ने सुझाव दिएका छन्। 

कार्यक्रममा हरिवन घर भएका त्रिभुवन विश्वविद्यालयका पूर्व प्राध्यापक खगेन्द्रप्रसाद भट्टराई, वरिष्ठ पत्रकार ध्रुवहरी अधिकारी, सगरमाथा आरोही रामशरण उप्रेती, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक सिन्धु ढुंगाना, फेक्ट नेपालका डा.तारा शाक्य, डा.वसन्त महर्जन, सीवीनका कार्यक्रम संयोजक कुमार भट्टराई, मनोविद् पद्म घिमिरे लगायतको सहभागीता थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .