ad ad

समाज


पानीको मुहान संरक्षण गर्न खोटाङका १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

पानीको मुहान संरक्षण गर्न खोटाङका १५ सामुदायिक वनमा ‘रिचार्ज’ पोखरी

नेपालखबर
जेठ २५, २०८१ शुक्रबार ९:५५, खोटाङ

पानीको मुहान संरक्षण गर्न खोटाङका १५ वटा सामुदायिक वनमा धमाधम ‘रिचार्ज’ पोखरी निर्माण हुँदैछन्। जलवायु परिवर्तनका असरले मुहान सुक्न थालेपछि संरक्षण गर्न जिल्ला डिभिजन वन कार्यालयले १५ वटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण सुरु गरेको हो।

हलेसी तुवाचुङ नगरपालिकाका चार, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाका दुई–दुई, जन्तेढुङ्गा गाउँपालिकाका तीन तथा रावाबेँसी गाउँपालिका र ऐसेलुखर्क गाउँपालिकाका तीनवटा सामुदायिक वनमा रिचार्ज पोखरी निर्माणको थालिएको डिभिजन प्रमुख पशुपति दाहालले बताइन्।

‘मुहानको शिरमा वर्षाको पानी जमाउने र जमिनलाई रिचार्ज गरेर मुहान सुक्नबाट जोगाउन रिचार्ज पोखरी उपयोगी हुन्छ। वर्षाको पानीबाट हुने जमिन कटान रोकथाम गर्दै  मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माणको काम सुरु गरिएको हो’, उनले भनिन् ‘रिचार्ज पोखरी निर्माणका लागि जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल) ले सहकार्य गरेको छ। निर्माणाधीन रिचार्ज पोखरी आगामी असार मसान्तभित्र सम्पन्न हुन्छ।’

जिल्लाका विभिन्न सामुदायिक वनमा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये केही ठाउँमा निर्माण सम्पन्न भइसकेका छन् भने केही ठाउँमा धमाधम निर्माण भइरहेका छन्। जिल्लामा निर्माण गरिने १५ वटा रिचार्ज पोखरीमध्ये पाँचवटा डिभिजन वन कार्यालय तथा दशवटा जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना (डिसिआरएल) को सहकार्यमा निर्माण हुनेछन्। 

डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी दुई लाख ५० हजार तथा डिसिआरएलले निर्माण गर्ने पोखरीका लागि दुई लाख ३५ हजार बजेट विनियोजन भएको छ। 

रिचार्ज पोखरीले मुहान संरक्षण हुनुका साथै मुहानमा पानीको मात्रा बढ्नेमा आफूहरु विश्वस्त रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष हर्कराज राईले बताए।

डिभिजन वन कार्यालयले यसअघि पनि जिल्लाका विभिन्न सामुदायिक वनमा रिचार्ज पोखरी निर्माण गरेको थियो। पोखरी निर्माणले पर्यायवरण संरक्षणमा सहयोग पुग्ने सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राईले जानकारी दिए।  रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .