ad ad

समाज


चुनावको ऋण तिर्न नसकेपछि वडाध्यक्ष गए वैदेशिक रोजगारीमा

पत्नी भन्छिन्- हाम्रो ४० लाख रुपैयाँ ऋण छ, यहाँ बसेर कसरी तिर्नु?
चुनावको ऋण तिर्न नसकेपछि वडाध्यक्ष गए वैदेशिक रोजगारीमा

नेपालखबर
साउन २३, २०८१ बुधबार १२:४९, काठमाडौँ

दाङको राप्ती गाउँपालिका–८ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङ रोजगारीका लागि विदेश गएका छन्। 

सोही वडाको कार्यालय सहायक हुँदै ०७९ को स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा विजयी भएका गुरुङ चुनाव लड्दा र घर व्यवहार चलाउँदा लागेको ऋण तिर्न नसकेपछि रोजगारीका लागि बेलायत गएको चर्चा छ। 

‘उहाँ यही साउन २० गते बेलायत जानु भएको जानकारी हामीले पाएका छौँ,’ राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले नेपालखबरसँग भने, ‘उहाँ जानुअघि कुनै जानकारी थिएन। काठमाडौँबाट उडेपछि मात्रै हामीले पनि मिडियाबाट जानकारी पाएका हौँ।’ 

राप्ती- ८ की वडा सदस्य चम्पा पुनले आफूलाई कार्यवाहक अध्यक्षको जिम्मेबारी सुम्पिएर वडाध्यक्ष गुरुङ रोजगारीको लागि बेलाइत गएको बताइन्। 

‘उहाँले यही साउन १७ गते मलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिनु भएको थियो। २० गते उहाँको फ्लाइट रहेछ,’ पुनले नेपालखबरसँग भनिन्, ‘म नआउँन्जेलको लागि चम्पा पुनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको’ भनेर पत्रमा लेख्नु भएको छ। कहिले आउने खुलाउनु भएको छैन।’ 

यसअघिका वडाध्यक्ष गोकर्णबहादुर रानामगरको कार्यकालमा पाँच वर्ष राप्ती गाउँपालिका- ८ नम्बर वडाको कार्यालय सहयोगी भएर काम गरेका गुरुङ गएको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। 

उनको प्यानलबाट उनीसहित सो वडामा चारजना निर्वाचित भएका थिए। एक जना वडा सदस्यमा भने कांग्रेस उम्मेदवार विजयी भएका थिए।

पाँच वर्ष कार्यालय सहयोगी भएर काम गरेका गुरुङ अध्यक्षमा निर्वाचित हुँदा निकै चर्चा कमाएका थिए। कार्यालय सहयोगी भएर काम गर्दा स्थानीयलाई गरेको सेवाको कारण उनी चुनावमा विजयी बनेका थिए। उनका श्रीमती र दुई छोरा छन्। जेठा छोरा कक्षा १२ र कान्छो छोरा ८ कक्षामा पढ्छन्।

चुनाव लड्दा र आमाको उपचार गर्दाकोसहित झण्डै ४० लाख रुपैयाँ ऋण लागेको र त्यो तिर्न नसकेपछि पति वैदेशिक रोजगारीमा गएको चन्द्रबहादुरकी पत्नी संगिताले बताइन्। ‘हाम्रो करिब ४० लाख रुपैयाँ ऋण छ। वडाध्यक्षको पारिश्रमिकले त्यो ऋण तिर्न सकिँदैन। त्यही भएर उहाँ विदेश जानुभएको हो, त्यत्राे ऋण यहाँ बसेर कसरी तिर्नु?’ संगिताले भनिन्। 

तर, गाउँपालिका अध्यक्ष विष्टले भने वडाध्यक्ष गुरुङको ऋणको विषयमा आफूलाई कुनै जानकारी नभएको दाबी गरे। ‘मैले त उहाँ हिँडेपछि मात्रै ऋणको कुरा सुन्दैछु,’ उनले भने, ‘त्यस्तो समस्याको विषयमा हामीसँग उहाँले यसअघि कुनै पनि कुरा गर्नु भएको थिएन।’ 

एक सातादेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएकी पुनले पनि अध्यक्ष गुरुङको ऋण या धनको विषयमा आफूलाई कुनै जानकारी नभएको बताइन्। 

‘उहाँ हामीसँग घरायसी व्यवहार वा ऋण-धनको विषयमा कुनै कुरा गर्नुहुन्नथ्यो। धेरैले उहाँलाई ४०/५० लाख ऋण लागेको छ भनेका छन्। तर, मलाई यो कुरा मनोमानी जस्तो लाग्छ। उहाँले हामीसँग त्यस्तो कुरा गर्नु भएको थिएन।’

गाउँपालिका अध्यक्ष विष्टले भने यदि वडाध्यक्ष गुरुङसँग ४०/५० लाख ऋण थियो भने वैदेशिक रोजगारीमा जानुलाई अन्यथा भन्न नमिल्ने बताए। 

‘वडाध्यक्ष भनेको जनताको सेवा गर्ने पद हो,’ उनले भने, ‘जनताको सेवा गर्नेले कमाउन सक्दैनन्। बदमासी गर्नेले कमाउने होला। इमानदारीपूर्वक काम गर्नेले यहाँ कमाउने भन्ने भन्ने हुँदैन। जनप्रतिनिधि भनेको आफू जलेर, सकिएर अरुलाई उज्यालो दिने जिम्मेवारी हो। यहाँ बसिरहँदा ऋण तिर्न नसकिने देखेर उहाँ वैदेशिक रोजगारीमा जानु भएको हुनसक्छ।’

वडाध्यक्ष गुरुङ एमाले राप्ती गाउँपालिकाको कमिटीको सदस्य पनि थिए। परिवारका सदस्यका अनुसार गुरुङ ‘सिजनल भिसा’मा बेलायत गएका हुन्। 

वडा कार्यालयमा कार्यालय सहयोगीमा नियुक्त हुनुअघि पनि उनी वैदेशिक रोजगारीका लागि खाडी मुलुक गएका थिए। एएएसलसी उत्तीर्ण गरेपछि उनी तीन वर्ष साउदी अरब र मलेसियामा बसेर घर फर्किएका थिए। 

गएको चुनावमा उनले कांग्रेसका प्रभाकरदेव चौधरी र माओवादी केन्द्रका रामचन्द्र चौधरीलाई पराजित गरेका थिए। गुरुङले ९५० मत प्राप्त गरेर विजयी हुँदा उनका प्रतिस्पर्धी कांग्रेसका चौधरीले ८१६ र माओवादी केन्द्रका रामचन्द्र चौधरीले २०६ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .