समाज


सडक सञ्जालमा जोडियो किमाथाङ्का, गाउँमा पुग्यो ट्र्याक्टर

सडक सञ्जालमा जोडियो किमाथाङ्का, गाउँमा पुग्यो ट्र्याक्टर

नेपालखबर
जेठ २, २०८३ शनिबार १८:२१, विराटनगर

नेपालको उत्तरी सीमावर्ती दुर्गम हिमाली क्षेत्र संखुवासभाको भोटखोला गाउँपालिकाको किमाथाङ्का सडक सञ्जाल जोडिएको छ। 

उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत मोरङको जोगवनीदेखि सङ्खुवासभाको किमाथाङ्कासम्मको कुल ३५७ किलोमिटर सडक खण्डको निर्माण कार्य सम्पन्न भएको छ। यससँगै किमाथाङ्कामा ट्याक्टर पुगेको छ।

​उत्तर–दक्षिण कोसी सडक योजनाका अनुसार जोगवनीदेखि खाँदबारीसम्मको दुई सय किलोमिटर सडक हाल कालोपत्रे भई सञ्चालनमा आइसकेको छ। यस्तै, खाँदबारीदेखि किमाथाङ्कासम्मको बाँकी १५७ किलोमिटर सडकमध्ये खाँदबारीदेखि नूमसम्मको ३९ किलोमिटर खण्डलाई कालोपत्रे गर्ने काम अघि बढिरहेको छ। नूमभन्दा माथिल्लो दुर्गम क्षेत्रमा भने कच्ची सडक निर्माणको काम सकिएको योजना प्रमुख रामबहादुर गुरुङले जानकारी दिए।

​यस सडक परियोजनाकै सबैभन्दा कठिन र चुनौतीपूर्ण मानिएको भोटखोला गाउँपालिका क्षेत्रको च्याम्ताङदेखि घोङ्गप्पासम्मको चट्टानी खण्ड ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको थियो। सेनाले उक्त कठिन भूगोलमा सफलतापूर्वक सडक निर्माण गरी गत वैशाख २८ गते सडक योजनालाई हस्तान्तरण गरेको थियो। 

सुरुमा १४ किलोमिटर सडक निर्माण गर्ने लक्ष्य राखिए पनि जटिल भूगोल र एलाइनमेन्ट परिवर्तनका कारण अन्तिम सर्वेक्षणमा यो खण्डको कुल लम्बाइ १०.८१ किलोमिटर कायम भएको थियो।

​सेनाले सडक हस्तान्तरण गरेको तीन दिनपछि जेठ १ गते शुक्रबार खाद्यान्न बोकेका तीन वटा ट्याक्टर पहिलो पटक उत्तरी नाका किमाथाङ्का पुगेका छन्। यो सडक सञ्जाल पूर्ण रूपमा जोडिएसँगै नेपाल, भारत र चीनबीचको त्रिदेशीय व्यापार र आर्थिक गतिविधिमा समेत ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad