समाज


कोसीका प्राविधिक शिक्षालयको स्तर निर्धारण गरिँदै

कोसीका प्राविधिक शिक्षालयको स्तर निर्धारण गरिँदै

नेपालखबर
बैशाख २३, २०८३ बुधबार १३:१८, विराटनगर

कोसी प्रदेशका प्राविधिक शिक्षालयलाई गुणस्तरका आधारमा वर्गीकरण गर्ने प्रक्रिया सुरु गरिएको छ। 

सामाजिक विकास मन्त्रालयको आयोजना र क्वालिटी परियोजना टिभेटको प्राविधिक सहयोगमा १० वटा शिक्षालय र आठ वटा पालिकाका प्रतिनिधिलाई सहभागी गराएर पहिलो चरणको सहजीकरण कार्यक्रम गरिएको छ। ​होटलहरूको ‘तारे’ वर्गीकरण र निजी विद्यालयको ‘ग्रेडिङ’ गरिए जस्तै अब प्राविधिक शिक्षालयलाई पनि निश्चित मापदण्डका आधारमा स्तर निर्धारण गर्न लागिएको मन्त्रालयले जनाएको छ। 

सामाजिक विकास मन्त्रालयको शैक्षिक प्रशासन महाशाखा प्रमुख लक्ष्मी न्यौपानेले पहिलो चरणमा स्तर निर्धारणका लागि योग्य देखिएका १० वटा शिक्षालय र आठ वटा पालिकालाई छनोट गरी सहजीकरणको काम अगाडि बढाइएको जानकारी दिइन्। न्यौपानेका अनुसार, यो प्रक्रियाले प्रदेशका प्राविधिक शिक्षालयको वास्तविक अवस्था र गुणस्तर पहिचान गर्न मद्दत पुग्नेछ।

​कार्यक्रममा सामाजिक विकासमन्त्री रामप्रसाद महतोले प्राविधिक शिक्षालाई कुरामा मात्र नभई व्यवहारमा नै रोजगारमुखी बनाउनु पर्नेमा जोड दिए। मन्त्री महतोले भने, ‘हामीले शिक्षालयहरूको सही छनोट गरेर अघि बढ्नुपर्छ। प्राविधिक शिक्षालाई रोजगारीसँग जोड्न र गुणस्तर कायम गर्न स्तरीकरण आवश्यक छ।’

​क्वालिटी परियोजना टिभेटका कार्यक्रम संयोजक डा. शिवप्रसाद दाहालले सीप विकास तथा व्यवसायिक तालिम परिषद (सीटीईभीटी) ले तोकेको स्तरीकरणको मापदण्ड र चरणबारे जानकारी गराएका थिए। उनले गुणस्तर सुनिश्चितता तथा मान्यता प्राप्त गर्नका लागि निर्धारित सूचकहरू पूरा गर्नुपर्ने बताए।

​स्तरीकरणका लागि योग्य रहेका शिक्षालयलाई प्रणालीमा आबद्ध गराउन र प्राविधिक कठिनाइहरू फुकाउन यो सहजीकरण कार्यक्रम महत्वपूर्ण मानिएको छ। कार्यक्रममा सहभागी प्राविधिक विद्यालयका प्रतिनिधिले स्तरीकरणको यो अभ्यासले प्रतिस्पर्धात्मक क्षमता बढाउने र गुणस्तरीय प्राविधिक शिक्षामा एकरूपता ल्याउने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad