समाज


मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

मेची राजमार्गको राजदुवाली खण्ड तत्काल नखुल्ने

नेपालखबर
असोज २७, २०८२ सोमबार ५:५०, इलाम

गत असोज १८ गतेको वर्षापछि पहिरोका कारण अवरुद्ध मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ । जटिल भू–संरचनाका कारण सडक खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। 

उनका अनुसार सडक खुलाउने प्रयास निरन्तर भइरहे पनि भूस्खलन र लगातार सडक भासिने समस्याले कठिनाइ भएको हो। ‘सडक खुलाउने प्रयास निरन्तर भइरहेको छ, तर भू–संरचनाको जटिलताका कारण तत्काल सञ्चालनमा ल्याउने अवस्था छैन’, प्रजिअ नेपालले भनिन्। 

सडक अवरुद्ध भएपछि विगत नौ दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु तथा सवारी आवागमनमा समस्या भएको छ । यसैबिच, वैकल्पिक मार्गको पहिचान गरी साना सवारी सञ्चालनको तयारी सुरु गरिएको प्रजिअ नेपालले बताइन्।

तत्कालका लागि आइतबार तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कलको रुटमा साना सवारी सञ्चालनमा ल्याइएको भए पनि सोमबारदेखि तिल्केनी–सिमलगो सडक खण्ड हुँदै साना सवारी सञ्चालन गर्ने तयारी भइरहेको प्रजिअ नेपालले जानकारी दिइन्। 

‘तिल्केनी–सिमलगोलाई सडकअन्तर्गत जोगमाई खोलामा सडक डिभिजनमार्फत ह्युमपाइप राखेर डाइभर्सनको काम आइतबारदेखि नै सुरु गरिएको छ”, उनले भनिन्, “सम्भवत सोमबार देखि सो सडक हुँदै साना सवारी सञ्चालन हुनेछन्।’ 

ठुला तथा मालवाहक सवारीका लागि भने हालसम्म उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको नेपालको भनाइ छ। तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल र तिल्केनी–सिमलगोलाई सडकमा तीव्र मोड र साँघुरोपनाका कारण ठुला सवारीका लागि कठिनाइ हुने अवस्था रहेको उनले बताइन्। 

सडक डिभिजन कार्यालय इलामले मेची राजमार्गको राजदुवाली सडकखण्ड पुनः निर्माणको काम हालका लागि स्थगन गरेको छ । राजदुवालीमा भूसंरचनाका कारण समस्या भएको र तत्काल वैकल्पिक मार्गमा नै श्रोतसाधन र जनशक्ति परिचालन गर्नुपर्ने भएकाले राजदुवाली सडकखण्ड पुनःनिर्माण स्थगन गरिएको सडक डिभिजनका सूचना अधिकारी इञ्जिनयर अर्जुन घिमिरेले बताए।

‘हामी अहिलेसम्म राजदुवाली खण्ड खुलाउने प्रयासमा लाग्यौँ, तर सफल हुन सकिनौँ’, घिमिरेले भने, ‘अहिले वैकल्पिक मार्गमा स्रोतसाधन र जनशक्ति परिचालन गरेका छौँ, त्यो सकेपछि पुनः राजदुवाली खण्ड पुनः निर्माणमा लाग्नेछौँ।’

पुवाखोलामा स्थानीयद्वारा काठको पुल निर्माण

इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत पुवाखोलामा स्थानीय बासिन्दाले श्रमदानमार्फत काठको पुल निर्माण गरेका छन्।

इलाम नगरपालिका–९ भाङटार र वडा नं। ११ सोयाक जोड्ने पुवाखोलाको बेलिब्रिज गत असोज १८ गतेको भीषण वर्षापछि आएको बाढीले बगाएपछि गाउँलेहरूले वैकल्पिक रूपमा काठको मोटरेबल पुल तयार गरेका हुन्। 

स्थानीय युवा रोशन राईको नेतृत्वमा सोयाकबासी र नेपाली सेनाको सहयोगमा ५० फुट लम्बाइ र आठ फिट चौडाइको काठको पुल निर्माण गरिएको हो। पुल निर्माणका लागि स्थानीयवासीले पाँच दिन लगातार श्रमदान गरेका थिए।

बाढीले बेलिब्रिज बगाएपछि सदरमुकामसँग सडक सञ्जाल विच्छेद भएकाले तत्कालका लागि काठको पुल निर्माणमा जुटेको अभियानका नेतृत्वकर्ता राईले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad