समाज


बाँदरको उपद्रो बढेपछि किसान हैरान

भोजपुरका स्थानीय भन्छन्- गाउँमा बस्न सक्ने अवस्था छैन
बाँदरको उपद्रो बढेपछि किसान हैरान

नेपालखबर
साउन २७, २०८२ मंगलबार १३:५६, भाेजपुर

भोजपुरमा बाँदरको उपद्रो किसानको प्रमुख समस्या बनेको छ। वर्षभरि खाने अन्नपात बाँदरले छिनभरमा नै सखाप पार्दा किसान हैरान छन्।

बाँदरका कारण जिल्लाका अधिकांश भागका स्थानीयले समस्या भोग्दै आएका छन्। बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वनजङ्गल आसपास बस्तीका किसान समस्यामा परेका हुन्। मकै पाक्ने समय भएकाले बाँदर खेतबारीमा पसेर अन्नबाली नष्ट पारेपछि किसान हैरान भएका छन्।

बास्तिम, दलगाउँ, मानेभञ्याङ, खावा, कोट, गोगने, लेखर्क, बोखिम धोद्लेखानीलगायत यहाँका नौवटै स्थानीय तहमा बाँदरले दुःख दिने गरेको छ। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बाँदर आउन थालेका स्थानीयवासीको भनाइ छ।

बाँदर नियन्त्रणका लागि सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने रामप्रसादराई–६ का स्थानीय राजेन्द्र राईले बताए। बाँदरको आतङ्क यसरी नै बढ्दै जाने हो भने बस्ती नै खाली हुने उनको भनाइ छ। 

‘हामी किसानको प्रमुख समस्या नै बाँदर बनेको छ’, उनले भने, ‘वर्षभरि दुःख गरेर उत्पादन गरेको कमाई छिनभरमा सखाप पार्ने भएकाले गाउँघरमा बस्न सक्ने अवस्था छैन। बाँदरका कारण बर्सेनि बस्ती खाली हुँदै गएको छ।’

भोजपुर नगरपालिका क्षेत्रमा बादर आतङ्क बढेकाले बस्ती खाली बन्दै गएको स्थानीयवासी कमल तामाङले बताए। बाँदरले खेतमा पसेर भर्खर रोपेको धानको गुबो नै नष्ट गरिदिने गरेको उनको भनाइ छ। 

बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय तल्लो क्षेत्रका स्थानीयले गाउँ नै छाड्न थालेका छन्। ‘बाँदरले गाउँघरमा सहज रूपमा उत्पादन गरेर खाने अवस्था छैन’, उनले भने, ‘वर्षभरि खानका लागि लगाएको अन्नबाली छिनभरमा नष्ट पार्छ। बारीमा कटेरा बनाएर हेरचाह गर्दा पनि सम्भव छैन।’

बाँदर मकैको थाङ्ग्रा धानको कुनिउ, बगैँचाका फलफूलमा आउन थालेपछि स्थानीय समस्यामा परेका हुन्। स्थानीयले स–साना टहरा बनाएर अन्नबालीको हेरचाह गर्ने गरेका छन्। 

बाँदर हेरचाह गर्नका लागि परिवारका दुईदेखि तीन जनाको काम नै त्यही हुने गरेको स्थानीयको भनाइ छ। बाँदरलाई यन्त्रउपकरण पड्काएर तर्साउने गरे पनि पछिल्लो समयमा टेर्न छाडेको किसानले बताएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad