मेची राजमार्गमा पर्ने पाँचथरस्थित हेवा खोलामा निर्माणाधिन बेलिब्रिज भाँचिर घाइते भएका तीन जना कामदारको मृत्यु भएको छ।
पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ लाई जोड्ने गरेर मेची राजमार्गमा निर्माणाधिन हेवाखोलाकाे बेलिब्रिज शनिबार दिउँसाे अचानक भाँचिएको थियो।
बेलिब्रिज भाँचिँदा त्यहाँ कार्यरत ६ जना मजदुर घाइते भएका थिए। गम्भीर घाइते भएका तीनजनाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका – १२ घर भएका २२ वर्षीय रुपलाल चौधरी, सोही ठाउँका २७ वर्षीय राजन चौधरी र २२ वर्षका राकेश चौधरी रहेका छन्।
पुल भाँचिँदा २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी पनि घाइते भएका छन्। घाइते सबैकाे विरानगरमै उपचार भइरहेकाे छ। उपचाररतमध्ये भुलेश्वरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका तीनजना कामदारको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन्।
गत असोज १० गते आएको बाढीले हेवा खाेलाको बेलिब्रिज बगाएको थियो। सोही स्थानमा बेलिब्रिज पुनः निर्माण गर्ने काम अन्तिम चरणको काम चलिरहँदा शनिबार दिउँसो पुल अचानक भाँचिएको हाे।
लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको अनुमान गरिएको छ।
Shares

प्रतिक्रिया