संखुवासभामा आमाछोरी मृत फेला परेका छन्।
चैनपुर नगरपालिका–११ लुहाकोट बस्दै आएका कृष्णप्रसाद त्रितालकी श्रीमती ४२ वर्षीया सीता खनाल र ७२ दिनकी छोरी आफ्नै घरमा मृत फेला परेका हुन्।
सीता स्थानीय सामुदायिक विद्यालयकी स्थायी शिक्षक हुन्। सुत्केरी बिदामा घरमा बसेको बेला याे घटना भएको प्रहरीले जनाएको छ।
गएको बुधबार दिउँसो घरको सुत्ने कोठाभित्र आमाछोरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
‘अहिलेसम्मको अनुसन्धानबाट आमाले नै छोरीको हत्यापछि आत्महत्या गरेको जस्तो देखिएको छ,’ उनले नेपालखबरसँग भने, ‘घटनाका सम्बन्धमा हामी थप अनुसन्धानकै क्रममा छौँ।’
मृतक महिलाका पति कृष्णप्रसाद स्थानीय माविको व्यवस्थापन समितिका अध्यक्षसमेत हुन्।
उनी व्यवस्थापन समितिको बैठकको लागि विद्यालयमा गएको बेला घटना भएको प्रहरीले जनाएको छ।
कृष्णप्रसाद अध्यक्ष रहेको विद्यालय र उनकी पत्नीले पढाउने स्कुल फरक हुन्। मृतक आमाछाेरीकाे पाेस्टमार्टमपछि आफन्तले शव बुझिलगेका डीएसपी बस्नेतले बताए।
Shares

प्रतिक्रिया