समाज


‘सोना गुलाबी’ ढकमक्क फुलेपछि ...

‘सोना गुलाबी’ ढकमक्क फुलेपछि ...

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १४:८, झापा

झापाको मेचीनगर नगरपालिकाको वडा नम्बर ७ सतिघट्टास्थित चिया बगानभित्र फुलेका ‘सोना गुलाबी’ फूलका कारण सो स्थान पर्यटकीय स्थलमा परिणत भएको छ। 

पूर्वीनाका काँकडभिट्टाबाट तीन किलोमिटर दक्षिण सतिघ्ट्टा चिया बगानको चार विगाहा क्षेत्रमा रहेको एक सय वटा ‘सोना गुलाबी’ रुख फूलेर राताम्य भएको छ।

हरियाली चिया बगानको माझमा चौरको वरिपरि फुलेका फूलले प्राकृतिक वातावरण रोमाञ्चक बनाएको कारण पर्यटकहरुको आगमन बढेको वडाध्यक्ष प्रह्लादमणि ओली बताउँछन्।

‘पहिले पहिले पनि यसरी नै फूल फुल्थ्यो, तर कसैले वास्ता गर्दैनथिए,’ उनी भन्छन्, ‘यसपाली मानिसहरु यति धेरै ओइरिन थाले कि, हामी पनि छक्क परेका छौँ। व्यवस्थापन कसरी गर्ने भनेर हम्मे हम्मे परेको छ।’

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ स्थित बर्नेको सडकमा फुलेका ‘गुलमोहर’ले व्यापक चर्चा पाएसँगै केही स्थानीयबासीले आफ्नो ठाउँमा पनि फूल फुलेको भनेर केही तस्वीर सामाजिक सञ्जालमा हालेपछि सतिघट्टाको ‘सोना गुलाबी’ भाइरल भएर टाढा टाढासम्मका पर्यटकलाई लोभ्याउन सफल भएको वडाध्यक्ष ओली बताउँछन्।

जेठको पहिलो सातादेखि यस स्थानमा दिनहुँ पाँच हजारको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेको र उनीहरु फोटो र भिडियो खिचाएर रमाउने गरेका छन्। मानिसहरुको चहलपहल अचानक सोचेभन्दा ज्यादा बढेपछि वडा कार्यालय र स्थानीय युवाले उक्त पर्यटकीय स्थानमा फोहोरमैला राख्ने डस्टबिन र फूलका हाँगा नभाँचिदिन सूचना बोर्डहरु राखिदिएका छन्।

सीमावर्ती क्षेत्र भएकाले यहाँ भारतको पानीटंकी, नक्सलबाडी, खोरीबारी, अधिकारी र रामधुनजोतका भारतीय बासिन्दा समेत मेची नदी तरेर दिउँसो घुम्न आउने गरेका छन्। घुम्नका लागि खासगरी युवायुवती धेरै आउने गरे तापनि बालबच्चा लिएर आउने अभिभावकहरुको संख्या पनि उल्लेख्य रहेको बगान नजिक घर भएका शिक्षक जीआर धितालले बताए।

‘यहाँ एकातिर हरियाली चिया बगान छ, अर्कातिर ठूला रुखका हाँगाभरि गुलाबी रंगका फूलहरु ढकमक्क छन्,’ आदर्श माध्यमिक विद्यालयका उनी भन्छन्, ‘मनमोहक वातावरण भएकाले मानिसहरु घुमफिरका लागि आएका हुन्। यसलाई दीगो पर्यटकीय स्थलमा परिणत गर्न खानेपानी, सुरक्षा, सरसफाई र बस्ने चौतारोहरुको प्रबन्ध स्थानीय सरकारले गरिदिनु पर्छ।’

‘सोना गुलाबी’ फूलेको यो नयाँ पर्यटकीय गन्तब्यस्थल निजी स्वामित्वमा रहेको सतिघट्टा चिया बगानभित्र रहेको कारण पूर्वाधारको दीगो प्रबन्ध गर्न कठिनाई छ। वडाध्यक्ष ओलीले बगानका सञ्चालकहरुसँग खाली चौर र फूल फुलेको जति लगभग चार पाँच बिगाहा जग्गालाई पर्यटकीय स्थलको रुपमा विकास गर्न सल्लाह भइरहेको बताए।

चरा तथा बन्यजन्तु संरक्षण समाज मेचीनगरका अध्यक्ष देबेन्द्र खरेलले बगानभित्र फुलेका फूलको रुखलाई स्थानीयबासीले ‘सिरिस’ भन्ने गरे तापनि त्यसको खास नेपाली नाम नभएको बताए। उनले यसको वैज्ञानिक नाम दक्षिण एसियाको रैथाने बनस्पति वर्गमा पर्ने ‘कासिया जाभानिका’ रहेको र पश्चिम बंगालमा यसलाई ‘लाली सोनालु’ भन्ने गरेको बताए । खरेलले नै यसको नेपाली नाम ‘सोना गुलाबी’ राखेका हुन्।

गायक विश्वास उप्रेतीले ‘सोना गुलाबी’का फूल फुलेर राताम्य भएको चिया बगानमा पुगेर आफुले आनन्द लिएको र गीतको भिडियो रेकर्ड गराएको बताए। चहलपहल बढेसँगै सो स्थान वरपर खाजा पसलहरु खुलेका छन्। 

बदाम, पोलेको मकै, खरबुजा, काक्रा, चाउचाउ, मोमो, चटपटे लगायतका खानेकुरा विक्री भइरहेका छन्। स्थानीय कमल खनालले हरेक दिन सयौं संख्यामा चारचक्के सवारी साधन र मोटरसाइकल लिएर पर्यटकहरु यहाँ आउने गरेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad