समाज


मझौलेका स्थानीयले पाउँन थाले गाउँमै स्वास्थ्य सेवा

मझौलेका स्थानीयले पाउँन थाले गाउँमै स्वास्थ्य सेवा

नेपालखबर
चैत २५, २०८१ सोमबार १३:४९, भोजपुर

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीयलाई सामन्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ। गाउँमा नै आधारभूत सामुदायिक स्वास्थ्य सेवा सञ्चालनमा आएपछि स्थानीयको समस्या हटेको हो। 

नागरिकलाई सहज सेवा प्रदान गर्न तत्कालीन साविक खावा गाउँ विकास समितिका–९, ८ र ७ का स्थानीयलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवामार्फत सेवा प्रवाह भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। नागरिकले पाएको सास्तीलाई समाधान गर्न आफूले जनप्रतिधि बन्दै गर्दा गरेको वाचा अनुसार नै स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह गरेको उनले बताइन्।

'यहाँका नागरिक स्वास्थ्य सेवा लिन निकै समस्या थियो,' उपाध्यक्ष राईले भनिन्, 'सामन्य स्वास्थ्य सेवा लिन पनि तीनदेखि चार घण्टा हिँड्नुपर्ने अवस्था थियो। जनप्रतिधि बन्दै गर्दा गरेको वाचा अनुसार यहीबाट सेवा प्रवाह गर्न सफल भएका छौँ।' नागरिकलाई सहज रूपमा स्वास्थ्यसेवा पुर्याउनलाई आफ्नो तहबाट भूमिका खेलिरहेको उपाध्यक्ष राईले बताइन्। भौगोलिक रूपमा विकट रहेका अन्य स्थानमा समेत आधारभूत सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह भइरहेको उनले जानकारी दिइन्।

सामान्य रुघाखोकी तथा जीवनजल लिनको लागि घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थामा गाउँबाट नै स्वास्थ्य सेवा लिन पाउँदा खुसी लागेको टेम्केमैयुङ–५ का रमेश विष्टले बताए। स्वास्थ्य इकाई स्थापनाले यहाँका नागरिकले तीनदेखि चार घण्टा समय लगाएर अन्य ठाउँमा सेवा जानुपर्ने बाध्यताको अन्त्य भएको उनले बताए। 'सामन्य स्वास्थ्य सेवा लिन नै समस्या थियो,' उनले भने, 'अहिले गाउँबाट नै सेवा लिन पाएका छौँ। अहिले हाम्रो वषौँदेखिको समस्या हटेको छ।' 

गाउँघरमा नै स्वास्थ्य संस्था सञ्चालन भए पनि बिरामी हुँदा नियमित स्वास्थ्य जाँच गराउन पाइएको स्थानीयवासी देवबहादुर विष्टले बताए। स्वास्थ्य केन्द्र स्थापनाले सामान्य उपचार लिनको लागि घण्टौँ पैदल यात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य भएको विष्टले जानकारी दिए।

'पुस्तौँबाट हामीले सामान्य स्वास्थ्य सेवा लिन समस्या झेल्दै आएका थियौँ,' उनले भने, 'अहिले गाउँमा नै स्वास्थ्य केन्द्र स्थापना भएपछि सहज भएको छ। स्वास्थ्य केन्द्र नहुँदा हामीलाई धेरै दुःख थियो। अहिले आफ्नै ठाउँमा नियमित स्वास्थ्य जाँच गराउन पाएका छौँ।' रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad