समाज


जब जंगलमा लागेको डढेला घर नजिकै आइपुग्यो

जब जंगलमा लागेको डढेला घर नजिकै आइपुग्यो

नेपालखबर
चैत २३, २०८१ शनिबार ११:७, पाँचथर

बुधवारदेखि पाँचथरको तमोर नदीको किनार साँवासेराको जङ्गलमा डढेलो लागेपछि जङ्गल नजिकै घर भएका गाउँले समस्यामा थिए। अकस्मात डढेलो आइपुग्यो भने खर (फुस)को छानो भएका घर गोठ जोगाउने कुनै उपाय नहुने पीर गाउँलेमा थियो।

सुक्खाले अत्यधिक प्रभावित यस स्थानमा वर्षा नभएको पनि छ महिना भइसकेको छ । वर्षा नहुँदा सुक्खाले पात पतिङ्गर सबै सुकिसकेका छन् । त्यसमाथि हावाहुरी अत्यधिक चलिरहेको थियो।

बुधवारदेखि सल्किएको डढेलो गाउँ आइपुग्न धेरै समय लागेन । साँवासेरामा लागेको डढेलो शुक्रबार कुम्मायक गाउँपालिका–१ यासोकको टङटङे र लेकेताम वनसम्म आइपुग्यो।

डढेलो गाउँमा जानबाट रोक्न अग्नि रेखा निर्माण भएको थिएन। सुक्खाले प्रभावित गाउँमा आगो निभाउने गरी प्रशस्तै पानी हुने नै भएन । कुम्मायक गाउँपालिकाका कर्मचारीसमेत रहेका काफ्लेपानीका कमल श्रेष्ठ शुक्रबार छिमेकी वीरबहादुर लावतीको घरको छानोमा बाल्टीभरि पानी लिएर बसेका थिए।

घरको वरिपरी डढेलोबाट निस्केको धुँवाले ढाकिसकेको थियो। खरको छानो भएको उक्त घरमा हावाहुरीले आगोको झिल्का ल्याइपुर्याए जोगाउन नसकिने भएपछि उनले करीव दुई घण्टा पानी बोकेर छानो माथि बसे ।

‘आगो घरभन्दा करीव ५० मिटर मुनि जङ्गलमा आइसकेको थियो। त्यहाँ बाँसको झाँङ पनि थियो । आगो लागेपछि बाँसका पात हावामा उड्छन्। आगो सल्किएका पात र झिल्को खरको छानोमा आइपुग्ला कि भनेर बाल्टीमा पानी लिएर छानोमा बसेको हुँ’, उनले भने,  ‘आगोको झिल्को आइपुग्ना साथ बाल्टीको पानी छ्यापेर निभाउने प्रयास गरेको हुँ।’

श्रेष्ठले छिमेकीको छानो रुघ्ने र अरु गाउँलेले घर नजिकै आइपुगेको आगो निभाउने काम गरेका थिए। उनीजस्तै आगो निभाउने गएका अरु मानिस खरको छानो भएका घरको छानोमा पानी लिएर बसेका थिए। करीव १५ घरलाई यसरी छानो रुघेर जोगाइएको श्रेष्ठको भनाइ छ।

सुक्खाले अत्यधिक प्रभावित कुम्मायक गाउँपालिका–१ यासोक, वडा नं ३ रानीगाउँ, वडा नं ४ रानीगाउँ र वडा नं ५ स्याबरुम्बाका विभिन्न वनमा डढेलो लागेको छ। वनमा लागेको डढेलो हावाहुरीका कारण क्षणभरमा नजिकै रहेका वस्तीमा पस्ने गरेको छ।

सङ्घ, प्रदेश र स्थानीय सरकारले नागरिकका घरमा जस्तापाता लगाउने विभिन्न कार्यक्रम चलाए पनि अझैसम्म सबै घरमा जस्तापाता पुग्न सकेको छैन । वनमा लागेको डढेलो गाउँमा पस्दा आज मात्रै सो स्थानका घनेन्द्र दर्जी बसोबास गर्दै आएको घरको भान्साघर जलेको श्रेष्ठले जानकारी दिए।

सोही डढेलो वस्तीमा पस्दा उक्त वडाको खाल्डेका दीर्घबहादुर खत्री, देवेन्द्र राई, यामकुमार चाम्लिङ, विष्णु राई, पहलमान कार्की, देवेन्द्र कार्की, डिकबहादुर कार्कीको घर, गोठ, अन्नपात, लत्ताकपडा, पशु चौपायासमेत जलेका छन्।

कुम्मायक गाउँपालिकाकै वडा नं ३ ताम्राखु वनमा लागेको डढेलोमा परी स्थानीय २६ वर्षीया प्रतिमा सम्बाहाम्फेको विहीवार मृत्यु भएको थियो। बिहीबार दिउँसो प्रतिमासँगै २८ वर्षीया सपना सम्बाहाम्फे, ११ वर्षीया शिवाना सम्बाहाम्फे र ६० वर्षीया निरमाया सम्बाहाम्फे घाँस काट्न जङ्गल गएका थिए।

आगलागीबाट जोगिन भाग्ने क्रममा उनीहरुलाई आगोको लप्काले भेटेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घाइते रहेका सपना, शिवाना र निरमायाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आजसम्म उपचार गरी थप उपचारका लागि आज कीर्तिपुर जलन अस्पताल पुर्याइएको कुम्मायक–३ का वडाध्यक्ष बावुराम कार्कीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad