समाज


कोसीमा जंगली हात्तीको उपद्रो बढ्दै, २ सातामा २ जनाको मृत्यु

कोसीमा जंगली हात्तीको उपद्रो बढ्दै, २ सातामा २ जनाको मृत्यु

नेपालखबर
पुस १७, २०८१ बुधबार १२:४१, मोरङ

मोरङको जिल्लाको सुन्दरहरैँचा-५ गुरुङ टोल बस्ने ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट निधन भएको छ।

लिम्बूले नमूना सामुदायिक वनमा ज्यालादारी रूपमा काम गर्दै आएकी थिइन् । वनबाट दाउरा काटेर घर फर्कने क्रममा उनलाई हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी प्रमुख कृष्ण खत्रीले जानकारी दिए । वनमा दाउरा काट्न गएकी लिम्बू साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा जङ्गलमा मृत फेला परेकी उनले बताए।

नमूना सामुदायिक वनमा एक दर्जनभन्दा बढी जङ्गली हात्ती रहेको जनाउँदै स्थानीय रातभर त्रासमा बस्ने बाध्यता रहेको सुन्दरहरैँचा–५ का वडाध्यक्ष गणेश चौधरीले बताए । उनले हात्तीको त्रासका कारण यहाँका स्थानीय रातभर जाग्राम बस्न बाध्य रहेका उल्लेख गरे।

दुई साताअघि सुन्दरहरैँचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएको बेला ४० वर्षीया गङ्गा श्रेष्ठको हात्तीको आक्रमणबाट निधन भएको थियो। यहाँको पालिकामा जङ्गली हात्तीको आक्रमणबाट विभिन्न समयमा मानवीय क्षति हुने गरेको छ।

कोशी प्रदेशका झापा, मोरङ र सुनसरीलगायत जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने तथा घर भत्काउने गर्दै आएको डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । उनले मोरङमा एक वर्षमा तीन वटा जङ्गली हात्ती मृत फेला परेका उल्लेख गरे।

जङ्गली हात्तीको बथानले झापा, मोरङ र सुनसरीलगायत जिल्लामा उपद्रो मच्चाइरहेकाले स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सबैभन्दा बढी झापा र मोरङमा मानवीय एवं भौतिक क्षति गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय मोरङको बेलबारी र सुन्दरहरैँचामा दैनिकजसो हात्तीको हुल देखिने गरेको स्थानीय बताउँछन्।

हात्तीले मान्छे मार्नेदेखि लिएर सर्वसाधारणले लगाएका बालीनालीमा क्षति पुर्‍याउने गरिरहेको छ । हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीमा मानवीय क्षति बढेको डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले उल्लेख गरे। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad