कारोबार


ठोरी छोटी भन्सार पुनः  सञ्चालनमा, भरतपुरकी मेयरले गरिन् उद्घाटन

ठोरी छोटी भन्सार पुनः  सञ्चालनमा, भरतपुरकी मेयरले गरिन् उद्घाटन

नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १३:५३, चितवन

चितवनको माडी नगरपालिका र पर्साको ठोरी जोड्ने ठोरी छोटी भन्सार बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। 

एक समारोहका बीच प्रदेशसभा सदस्य ठाकुर ढकाल, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, माडी नगरपालिकाका प्रमुख ताराकाजीकुमारी महतो, ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले संयुक्त रूपमा उद्घाटन गरी भन्सार सञ्चालनमा ल्याएका हुन्।

त्रिदेशीय नाकाका हिसाबले नेपालकै छोटो मानिने ठोरी–माडी–भरतपुर–रसुवागढी (केरुङ)को प्रवेश बिन्दु ठोरी नाका रहेको छ। 

भरतपुर भ्रमण वर्ष २०२४ का सन्दर्भमा भरतपुर महानगरपालिकाले नाका सञ्चालनमा पहल गरेसँगै लामो समय बन्द रहेको नाका सञ्चालनमा आएको हो । भरतपुरबाट सबैभन्दा छोटो दूरीमा भारत जोडिएको स्थान ठोरी हो । भरतपुरबाट ठोरी ७० किमी दूरीमा छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य ठाकुर ढकालले यो नाका सञ्चालनसँगै चितवनको सबै क्षेत्रमा आर्थिक विकासका बाटा खुल्ने बताए। उनले भने, ‘अब जिल्लाको सँगै देशको आर्थिक विकासमा सहयोग पुग्छ।’

सो अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले भन्सारलाई सहज, व्यवस्थित र नियमित रूपमा सञ्चालनमा ल्याउन ठोरी गाउँपालिकाको मुख्य भूमिका रहने बताइन्। 

लामो समयको पहलपछि नाका पुनः सञ्चालनमा ल्याउन सकिएको भन्दै उनले नाका सञ्चालनमा आएपछि भारतबाट ठोरी हुँदै नेपाल प्रवेश गर्ने पर्यटकलाई वीरगञ्ज र भैरहवा नाकाबाट लिने अस्थायी पासको झन्झट हटेर जाने दाबी गरिन्।

भन्सार विभागका महानिर्देशक डुण्डीप्रसाद निरौलाका अनुसार भारतीय नम्बरप्लेटको एउटा सवारीले एक वर्षभित्र ३० दिन नेपालमा अस्थायी पास लिएर सवारी चलाउन पाइने छ। भन्सारलाई थप स्तरोनन्ति गर्न अहिले अध्ययन भइरहेकाले प्रतिवेदन आएपछि थप निक्र्यौल निस्किने उनको भनाइ थियो।

भन्सार स्तरोन्नति गरी सञ्चालनमा ल्याउने सन्दर्भमा हालै सङ्घीय मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । पर्साको छोटी नाकामध्ये सबैभन्दा बढी चल्ती अवस्थामा रहेको ठोरीस्थित छोटी भन्सार कार्यालयको भवन करिब दुई वर्ष अगाडि निर्माण गरी तयारी अवस्थामा थियो। 

यसअघि गत वर्ष माघ २७ गते नै भन्सारको सेवा सुरुआत गर्ने भनिएको भए पनि प्रक्रिया पूरा नभएको भन्दै अन्तिम समयमा रोकिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .