मानव-हात्ती द्वन्द्व घटाउन झापाका विभिन्न स्थानमा ७६ किलोमिटर अफसेट सोलार फेन्स (सौर्य तारबार) निर्माण गरिएको छ।
झापामा पहिलोपटक बाहुनडाँगीमा २०७३ सालमा एक करोड २० लाख रुपैयाँ लागतमा १८ किलोमिटर विद्युतीय तारबार निर्माण गरिएको थियो। त्यसपछि २०७६ साल चैतमा जलथल वन क्षेत्रमा पहिलो चरणमा ३५ किलोमिटर सौर्य तारबार लगाइको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए।
हल्दिबारी, कचनकवल, बाह्रदशी र भद्रपुरसँग जोडिएको वन क्षेत्रअन्तर्गत निर्माण गरिएको सौर्य तारबारको लागत पाँच करोड ६५ लाख २७ हजार रुपैयाँ छ। २०७८ चैतमा जलथल वन क्षेत्रमा दोस्रो चरणमा भद्रपुरमा एक करोड एक लाख ४४ हजार रुपैयाँ लागतमा ६.३९ किलोमिटर सौर्य तारबार गरेको कार्यालयले जनाएको छ।
मेचीनगर नगरपालिकाको चारआली-मागुरमाडी खण्डअन्तर्गत १६.९८ किलोमिटर सौर्य तारबार लगाइएको छ। गत असारमा दुई करोड ५३ लाख ९५ हजार रुपैयाँ लागतमा बार लगाइएको हो। बार लगाउन राज्यकोषबाट रकम खर्च भएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोषले त्यसमा प्राविधिक परामर्श प्रदान गरेको थियो।
पहिले लगाइएका केही स्थानका बार जीर्ण भएकाले मर्मत गर्नुपर्ने भएको छ। बाहुनडाँगीस्थित १८ किलोमिटर तारबार मर्मत गर्न करिब ३० लाख र जलथल क्षेत्रका लागि ४४ लाख ४७ हजार रुपैयाँ आवश्यक पर्ने प्रमुख राईले जानकारी दिए।
देशको पूर्वी नाकाबाट प्रत्येक वर्ष दुईपटक मानव बस्तीमा हात्ती प्रवेश गर्दै आएका छन्। वैशाखको दोस्रो हप्तादेखि असारको तेस्रो हप्तासम्म र कात्तिकको दोस्रो हप्तादेखि पुस–माघतिर हात्ती आउने गरेका छन्। विसं २०७५ अघि झापामा १०–१२ वटा हात्ती बस्ने गरेकामा त्यसपछि वृद्धि हुँदै हाल ३५ पुगेको छ। अहिले वर्षैभरि बस्ने गरेका डिभिजन वन कार्यालयले जनाएको छ।
हात्तीको आक्रमणमा परी चालु आर्थिक वर्षमा सातजनाको मृत्यु भएको छ। चालु आवमा हात्तीको आक्रमणबाट ५३२ घटनाका पीडितलाई एक करोड २६ लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्न बाँकी छ। रासस
Shares

प्रतिक्रिया