समाज


खोटाङका ७२ जना किसानले पाए पुरस्कार र सम्मान

खोटाङका ७२ जना किसानले पाए पुरस्कार र सम्मान

नेपालखबर
माघ १७, २०८० बुधबार ८:३३, काठमाडौँ

खोटाङमा कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ जना किसानलाई पुरस्कृत गरिएको छ। त्यसैगरी २९ जना किसानलाई सम्मान गरिएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो।

पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन हजार, दुई हजार पाँच सय र दुई हजार तथा बालीतर्फ प्रथम, द्वितीय र तृतीय हुने किसानलाई क्रमशः रु दुई हजार पाँच सय,  दुई हजार र एक हजार पाँच सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिए । ‘कृषि तथा पशु मेला प्रदर्शनीमा एक सय २० वटा कृषि उपज राखिएको थियो । मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो। 

पुरस्कृत तथा सम्मानित हुने किसानलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, नगर उपप्रमुख विशन राईले मङ्गलबार संयुक्तरूपमा नगदसहित प्रमाणपत्र प्रदान गरेका छन् ।  दिक्तेलस्थित हाटडाँडामा आयोजित कृषि तथा पशु मेला प्रदर्शनी करिब पाँच सय जनाले अवलोकन गरेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिएका छन्। 

कृषि तथा पशु मेला प्रदर्शनीमा फलफूल, तरकारी, दलहन तथा तेलहन, प्रशोधित कृषि उपज, राडीपाखी, छालाजुत्ता, ढाका कपडालगायत स्टलका रूपमा राखिएको थियो । माघ १५ र १६ गते आयोजित कृषि तथा पशु मेला प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थीले समेत अवलोकन गरेको जनाइएको छ। 

कृषि तथा पशु मेला प्रदर्शनीमा नगरपालिकाभित्रका किसान समूह तथा किसानलाई मात्र सहभागिताका लागि अवसर दिइएको थियो । कृषि तथा पशु मेला प्रदर्शनीले कृषि पेसाप्रति किसानको आकर्षण वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । दश स्थानीय तह रहेको जिल्लामा कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गर्दै आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न सबै स्थानीय तहले नीति तथा कार्यक्रमसमेत बनाएर लागू गरेका छन्।

जिल्लाका सबै स्थानीय स्थानीय तहले कृषिमा अनुदानको व्यवस्था गरे पनि पहुँचका व्यक्तिले मात्र सेवा लिने गरेको गुनासोसमेत आउन थालेका छन् । यद्यपि जिल्लामा पछिल्लो समय व्यावसायिक कृषि पेसा अपनाउने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्किएका व्यक्ति सबैभन्दा बढी व्यावसायिक कृषि पेसामा लागेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad