हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि आगामी जेठ १० गतेबाट पाटनहरू खुला गरिने भएको छ।
जिल्लाको सदरमुकाम दुनैमा मंगलबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले यार्सागुम्बा संकलनसम्बन्धी निर्णय गरेको हो। शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका निमित्त कार्यालय प्रमुख विज्ञान सेनले आगामी जेठ १० गतेदेखि जिल्लाका सबै पाटनहरू खुला गर्ने निर्णय गरेको जानकारी दिए।
‘गत वर्षभन्दा यो पटक अलि ढिलो पाटनहरू खुल्ला गर्ने निर्णय भएको छ’, सेनले नेपालखबरसँग भने, ‘आज बसेको बैठकमा एक महिनाका लागि पाटन खुल्ला गर्ने सर्वपक्षीय सहमति भएको छ।’
उनकाअनुसार यार्सागुम्बा संकलनका लागि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्र र डिभिजन वनको क्षेत्रमा पर्ने सम्पूर्ण पाटन सर्वसाधारणका लागि खुल्ला गरिनेछन्। यार्सागुम्बा संकलनको समयमा यार्सापाटन पुगेका नागरिकले अन्य जडीबुटी संकलन गरेको र वन्यजन्तु सिकार गरे सोही अनुसार निकुञ्जले कारबाही गर्ने उनले बताए।

यार्सा टिप्न पाटन जानेहरूका लागि तीन प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरिएको छ। जसअनुसार निकुञ्ज भित्रका मध्यवर्ती क्षेत्रभित्रका बासिन्दालाई पाँच सय रुपैयाँमा ‘क’ वर्ग, डोल्पा जिल्लाभित्रका नागरिकलाई दुई हजारमा रुपैयाँ ‘ख’ वर्ग र जिल्ला बाहिरकालाई तीन हजार रुपैयाँमा ‘ग’ वर्गको अनुमति दिइनेछ।
मध्यवर्ती क्षेत्र र जिल्ला भित्रका बासिन्दालाई प्रवेश शुल्कको लागि अनिवार्य परिचयपत्र देखाउनु पर्नेछ। परिचपत्र नदेखाएमा ‘ग’ वर्ग कै प्रवेश शुल्क लिइने भएको छ।
यार्सागुम्बा संकलनको लागि जेठ ५ देखि ७ गतेसम्म सम्बन्धित पाटनका क्षेत्रमा प्रवेश शुल्क तिरी सक्नु पर्नेछ।यार्सापाटनमा १६ वर्षभन्दा तलका बालबालिकालाई प्रवेशमा निषेध गरिने निकुञ्जले लगाएको छ।
यस्तै, बैठकले पाटनमा सामुदायिक वन उपभोक्ता समितिबाट माग भएमा सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाल प्रहरीको टोली परिचालन गर्ने निर्णय पनि गरिएको प्रमुख सेनले बताए।
पाटन क्षेत्रको गस्तीका लागि निकुञ्ज कर्मचारी र सेना परिचालन भइसकेकाले तोकिएको मिति अगावै पाटन क्षेत्र पुग्नेलाई कारबाही गरिने बताइएको छ।
प्रत्येक वर्ष डोल्पाका उच्च हिमाली क्षेत्रमा रहेका पाटनमा हजारौँ सर्वसाधारण यार्सा संकलनका लागि पुग्ने गर्छन्। डोल्पाका सयौँ यार्सापाटनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा पाइन्छ।
यार्सा संकलनका लागि डोल्पा, जाजरकोट, रुकुम पश्चिम लगायतका क्षेत्रहरूबाट अधिकांश घर नै खाली गरेर हिमाली जिल्ला डोल्पाका उच्च पटनमा पुग्ने गरेका छन्।
Shares

प्रतिक्रिया