समाज


पोखराको प्रस्तावित बसपार्क र फिर्केखोलाको अतिक्रमण हटाउने महागरको तयारी

पोखराको प्रस्तावित बसपार्क र फिर्केखोलाको अतिक्रमण हटाउने महागरको तयारी

नेपालखबर
जेठ ६, २०८३ बुधबार १९:१४, पोखरा

पोखरा महानगपालिकाले पोखरा बसपार्कको अतिक्रमित जग्गाका बसोबासीलाई आफ्नो विवरण बुझाउन सूचना जारी गरेको छ।

अतिक्रमित बसपार्क खाली गर्न यसअघि दिइएको ३५ दिने समयसीमा सकिन तीन दिन बाँकी रहँदा महानगरले सूचना जारी गर्दै यसअघि निस्सा वितरण भएका सबै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई आफ्नो परिचय खुलाइ निवदेन दिन आग्रह गरेको छ। महानगरले जारी गरेको सूचनामा यसअघि वितरण भएको निस्सा, घरमूलीको नाम, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि तथा घरमूली र अन्य व्यक्तिको नाता खुलेको स्वघोषणा पत्र पेश गर्न भनेको हो। 

सबै प्रमाणहरू वडा नम्बर ९ को कार्यालयमा बुझाउन भनिएको छ। २०३२ सालमा प्रस्तावित बसपार्क यही वडामा पर्छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यका अनुसार सर्वोच्च अदालतले सुकुम्वासी बस्तीमा रहेकाहरूको व्यस्थापनको आदेशलाई मध्यनगर गर्दै यो सूचना जारी गरिएको हो।

‘बसपार्कमा रहेका अनधिकृत संरचना हटाउन हामीले यसअघि नै ३५ दिने सूचना दिइसकेका छौँ, बसपार्क खाली गर्ने अनि त्यहाँ रहेका वास्तविक भूमिहीनको व्यवस्थापन गर्ने नै हो,’ मेयर आचार्यले भने, ‘हामीले खोजेको सूचनाले घर-टहरा हटाउने क्रममा कोही अशक्त, अपाङ्गगता भएका वा थप सेवा लिनुपर्ने नागरिक भए नभएको पर्गेल्न पनि सहज हुनेछ।’

अधिग्रहणको बेला २०५ रोपनी क्षेत्रफल रहेको बसपार्क क्षेत्र अतिक्रमणपछि एक सय रोपनीभन्दा पनि कम क्षेत्रमा खुम्चिएको छ। अहिले सो क्षेत्रमा ४५७ परिवार बसोबास गर्दै आएको महानगरले तथ्याङ्क निकालेको छ। तीमध्ये केहीसँग महानगरले दिएको अस्थायी निस्सा छ भने कतिपय कित्ताहरु पटक-पटक बिक्री हुँदै आइरहेका छन्। 

यस्तै महानगरले बुधबार नै फिर्केखोलाको अतिक्रमण जेठ ९ गतेभित्र हटाउन सूचना जारी गरेको छ। फिर्के खोला बग्ने क्षेत्र नै मिचेर बनाइएका संरचना आफैंले नहटाए बल प्रयोग गर्ने महानगरको तयारी छ। 

‘महानगरले गएको वैशाख ४ गते फिर्केखोलाको खोलाघर खाली गर्न सूचना जारी गरिएको स्मरण गर्दै भनेको छ,’ पोखराको मध्य भाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक बहावमा अवरोध सृजना हुने गरी विभिन्न स्थानमा व्यक्तिगत÷संस्थागत रूपमा अतिक्रमण भई खोलाको अस्तित्व समाप्त हुने अवस्था आएकाले यसको संरक्षण, सम्वर्द्धन र विशेष सौन्दर्यीकरणको योजनासहित पोखरा महानगरपालिकाले फिर्के खोलाको खोला घर नाप जाँच कार्य सम्पन्न गरिसकेको छ।’

पश्चिम पोखराको सिरानमा पर्ने अँधेरी कुनाबाट सुरु हुने फिर्के खोला आठ किलोमिटर लामो छ र यो खोलाको पानीको बहाव नै रोकिने गरी १६० भन्दा बढी संरचना निर्माण भएका छन्। त्यस्ता संरचनामध्ये केही सरकारी, लायन्स जस्ता सामाजिक संस्था, विभिन्न समूहका समाज घर र अन्य निजी घर रहेका छन्। खोला किनारमा केही संख्यामा सुकुम्वासी पनि रहेको महानगरले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad