समाज


चिसोले खोला र धारा जम्न थाले, तर ढोरपाटनका विद्यार्थीको पढाइ रोकिएन

चिसोले खोला र धारा जम्न थाले, तर ढोरपाटनका विद्यार्थीको पढाइ रोकिएन

नेपालखबर
पुस २७, २०८२ आइतबार ९:३, बागलुङ

अत्यधिक चिसो बढेपछि बागलुङको ढोरपाटन क्षेत्रका खोला र धारमा पानी जम्न थालेको। बिहानपख तुसारोले बाटो छेक्दा हिँडडुलमा पनि समस्या हुन्छ। 

बिहानमा तुसारो पर्ने र दिउँसमा सिरसिर चलिराख्ने सेरेटोले स्थानीयको दैनिकी नै प्रभावित हुने गर्छ। 

यस्तो चिसोमा पनि यहाँका विद्यालय भने सञ्चालनमा छन्। केही विद्यालय घुम्ती पढाइका लागि बेँसी झरे पनि ज्योति विकास माध्यमिक विद्यालयका र सिद्ध प्राथमिक विद्यालय अहिले पनि यहीँबाट सञ्चालित छन्।

चिसोमा विद्यालय चल्दा विद्यार्थीले सास्ती खेप्नुपरेको छ । चिसोले विद्यार्थी र शिक्षक बिरामी पर्दा पठनपाठनसमेत प्रभावित हुने गरेको छ। 

ढोरपाटन नगरपालिका–९ चिसापानीमा रहेको ज्योति विकास मावि र छेन्तुङस्थित सिद्धबराह प्राविका विद्यार्थी र शिक्षक बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित बनेको छ।

ढोरपाटनमा बिहानमा बाक्लो तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटोले विद्यार्थीलाई ज्वरो, रुघाखोकीसहित निमोनिया हुने समस्या देखिँदा पढाइ प्रभावित बनेको ज्योति विकास माविा प्रधानाध्यापक चकबहादुर अदैले जानकारी दिए । चिसोका कारण धारो र खोलामा पानीसमेत जमेको भन्दै पठनपाठनमा निकै समस्या भएको उनको भनाइ छ।

अघिल्लो वर्ष पुस पहिलो सातादेखि माघ अन्तिम सातासम्म बिदा हुने गरे पनि यस नगरपालिकाको वार्षिक क्यालेण्डरअनुसार चल्दा समस्या भएको अदैले बताए। 

ढोरपाटनमा सञ्चालित जनवादी आधारभूत विद्यालय र सहलथान प्राथमिक विद्यालयले घुम्ती पठनपाठन सुरु गरेका छन् । जनवादीले ढोरपाटन नगरपालिका–९ बिजौले र सहलथानले वडा नं ८ को नौघर टोलाबाट पढाइ सञ्चालन गरेका छन्।

अघिल्ला वर्षहरूमा बर्खे बिदाको समयमा पठनपाठन गर्ने र हिउँदमा विद्यालय बन्द गर्ने गरेको भए पनि यस चिसो कठ्याङ्ग्रिँदै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रअ अदैले सुनाए। 

अघिल्लो वर्षदेखि कक्षा १० सञ्चालन गरेको भन्दै यो याममा पोखरामा लगेर ट्युसन पढाएको उनको भनाइ छ । गत वर्षदेखि कक्षा १० सञ्चालन भएको यस विद्यालयमा अहिले कुल १६८ विद्यार्थी रहेको अदैले जानकारी दिए।

‘चिसोले पानी जमेको छ, बाटोभरि तुसारो जम्दा यात्रा गर्न पनि कठिन छ, यस्तो अवस्थामा पठनपाठन गर्दा बालबालिका बिरामी पर्छन्, एकैदिन १५–२० जना बिरामी हुँदा पठनपाठनमा समस्या हुने गरेको छ, पोहोरपरार त यो बेलामा बिदा हुन्थ्यो’, उनले भने, ‘पहिले बर्खामा पढाउने र यो बेला बन्द गर्ने गथ्र्यौैँ, हिउँदमा पठनपाठन गर्न थालेको यसपालि पहिलोपटक हो, तर निकै गाह्रो भइरहेको छ।’

चिसोका कारण हातखुट्टा कठ्याङ्गिँदा पढाइप्रति ध्यानै नजाने कक्षा १० मा अध्ययनरत छात्रा ओममाया विकले बताइन् । एसइई पनि नजिकिँदै गरेको भन्दै जाडोले गर्दा विद्यालय जावतजावतसमेत गाह्रो हुने गरेको उनको भनाइ छ। जाडोका कारण पुस लागेपछि दुईतीनपटक बिरामी परेको विकले सुनाइन्।

ढोरपाटनमा अधिकांश न्यून वर्गका बालबालिकाले मात्रै पढ्ने गर्छन्। हुनेखानेले आफ्ना छोराछोरी पोखरा, काठमाडौँलगायत ठाउँमा पढाउने गरेका छन्। 

ढोरपाटन नगरपालिकाका सहायक शिक्षा अधिकृत ज्ञानेन्द्रप्रकाश सापकोटले विद्यालयसँग सहकार्य गरेर वैकल्पिक उपाय खोज्ने बताए। शिक्षकहरूकै राय लिएर वार्षिक क्यालेण्ड बनाएको उनको भनाइ छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad