समाज


१ सय वर्ष पुगेका लालबहादुरलाई गाउँपालिकाको सम्मान

१ सय वर्ष पुगेका लालबहादुरलाई गाउँपालिकाको सम्मान

नेपालखबर
कात्तिक ८, २०८२ शनिबार ११:९, म्याग्दी

खैरो रङको स्वीटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपी पहिरन लगाएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो। 

उनको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आँगनमा जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरुको उपस्थितिमा एक सयौँ जन्मदिन मनाउन पाउनु। जलजला गाउँपालिका–२ ओखरबोटका जिसीले सम्मानपछि खुलेर मनको कुरा र जीवन भोगाईका अनुभव सुनाउनुका साथै भलाकुसारी गरे।   

साठी वर्षसम्म खेतीकिसानी र घुम्ती गोठमा पशुपालन गरेर पाँच सन्तान हुर्काएका जिसीले अहिलेसम्म बिरामी भएर अस्पतालन भर्ना नभएको र एलोपेथिकको औषधी सेवन् नगरेको सुनाए। 

‘दूध, घ्यु, दही, माछा, मासु, विषादी र रासायनिक मलको प्रयोग नगरीकन उत्पादन भएको ताजा तरकारी, फलफुल उपभोग गरेको हुँदा अस्पताल भर्ना हुने गरि बिरामी परेको छैन,’ जिसीले भने, ‘सामान्य बिरामी हुदा गाउँघरमै पाइने जडिबुटी खाएर निको भएको छु।’

तत्कालीन राणा, प्रजातन्त्र, पञ्चालत, राजतन्त्र, शसस्त्र द्वन्द्व हुदै संघीय गणतन्त्रिक व्यवस्थाको अनुभव गरेका जिसीले युवा हुँदा एक महिना लगाएर बुटवल पुगेर नुन ल्याएको, त्यसबेला जुत्ता, चप्पल लगाउन नपाएको, खानेपानी, विद्युत, सञ्चारको सुविधा नहुँदा जीवनयापन निकै कष्टकर रहेको स्मरण गरे।  

‘नयाँ कपडा लगाउन चाडपर्व नै कुर्नुपर्ने थियो, ढुङ्गा प्वाल पारेर जम्मा भएको पानी उपभोग गर्नुपर्ने अवस्था थियो,’ उनले बाल्यकाल सम्झिँदै भने, ‘पूर्वाधार र चेतनाको विकासका साथै व्वयस्थामा आएको परिवर्तनले हामी सर्वसाधारणको जनजिवन धेरै सहज भएको छ।’

खेतीयोग्य जमिन बाँझिने, बसाईसराई बढ्दो र खाद्यान्तमा परनिर्भरता बढेकोमा जिसीले चिन्ता गरे। 

स्थानीय खानेपानी उपभोक्ता समितिको नेतृत्व गरेका जिसीका चार छोरा र एक छोरीका २० जना नाती, नातिना र पनाति छन्। जिसीले १७ वर्षको उमेरमा १३ वर्षीया नन्दकुमारीसँग बिवाह गरेका थिए। 

हाल श्रवणशक्ति कम भएपनि स्पष्ट बोल्न सक्ने उनी धार्मिक पुस्तकका चित्रहरु अध्ययन, आफन्त र छिमेकीसँग गफिएर दिन बिताउँछन्। घर वरपर आफैँ हिडडुल गर्छन्। खाना खान, शौचालय जान सहयोगी नचाहिने लालबहादुरका माइला छोरा हरिबहादुर जिसीले बताए। 

जिसिलाई शुक्रबार जलजला गाउँपालिका, बराह टोल विकास संस्था, घर्ती क्षेत्री लामिछाने बन्धु समाजले प्रशंसापत्र प्रदान गरेर सम्मान गरेका थिए। जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरे। 

एक सय वर्ष पुगेका पालिका भरिका शताब्दी पुरुष र नारीको पहिचान गरेर घरमै पुगेर सम्मान गर्ने, अनुभव, जिवन भोगाई र सुझावलाई रेकर्ड गरेर राख्ने, परम्परागत ज्ञान, सिप र अनुभवको पुस्तान्तरण गर्न थालिएको अध्यक्ष आचार्यको भनाई छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad