समाज


गाउँमा प्रविधि भित्रिएपछि लोप हुन थाले परम्परागत पानीघट्ट

गाउँमा प्रविधि भित्रिएपछि लोप हुन थाले परम्परागत पानीघट्ट

नेपालखबर
कात्तिक ७, २०८२ शुक्रबार ११:११, मुस्ताङ

कुनै समय मुस्ताङका ९६ वटै गाउँबस्तीमा उवा, जौ, फापर, गहुँ, मकै र फापरको सुकेको पात (ढाप्रा) लगायतका रैथाने बाली पिसेर पीठो बनाउने ‘पानीघट्ट’ प्रयोग हुन्थ्यो। खोला, हिमनदी र सिँचाइ कुलोबाट यहाँका अधिकांश गाउँमा परम्परागत पानीघट्ट चल्थे।

विद्युतीय सुविधा नहुँदा त्यस बेलाको उपयुक्त प्रविधि भनेकै परम्परागत पानीघट्ट एक मात्र विकल्प थियो। तर, अचेल त्यो जमाना पूरै फेरिएको छ। पछिल्लो समय तीव्र गतिमा भइरहेको अत्याधुनिक प्रविधिको विकास र विद्युतीय पहुँचका कारण सदियौँदेखि मुस्ताङमा चलनका रूपमा रहेको परम्परागत ‘पानीघट्ट’ संस्कृति बिस्तारै लोप हुने अवस्थामा छ।

प्राचीन कालदेखि नै पिसानी गर्ने एक स्थानीय घरेलु प्रविधि माध्यमका रूपमा रहेको यस प्रकारको परम्परागत संस्कृतिका रूपमा परिचित ‘पानीघट्ट’ संरक्षण गर्नसमेत यति बेला मुस्किल पर्ने देखिएको छ। 

हिमाली जिल्लामा रैथाने बालीलाई पीठो बनाउने सफा र उपयुक्त प्रविधिका रूपमा स्थापित बनेको परम्परागत ‘पानीघट्ट’ अचेल प्रविधिको विकाससँगै मुस्ताङका अधिकांश गाउँहरूमा लोप हुन थालेका छन्। पिसानी सहज बनाउने परम्परागत पानीघट्ट सङ्कटमा परेको हो।

घरपझोङ-५ ठिनीमा गाउँहरूको सामूहिक एक परम्परागत पानीघट्ट सञ्चालनमा छ। यहाँको पानीघट्ट गाउँलेबाट वार्षिक तीन हजार शुल्क बुझाउने गरी ढुम्बा स्थानीय हिमा गुरुङले सञ्चालन गरेका छन्। ठिनी गाउँबाट दुई वर्षदेखि पानीघट्ट आफूले सञ्चालन गर्दै आइरहेको हिमा बताउँछिन्।

पानीघट्टमा एक मुरी अन्न पिसेको एक पाथी ज्याला लिने गरेको सञ्चालक गुरुङ बताउँछिन्। धेरैजसोले छिटोछरितोका लागि विद्युतीय मेसिनमा पिस्ने गर्छन्, घट्टमा घण्टौँ लाग्ने काम मेसिनले केही समयमै पूरा गरिदिन्छ। सञ्चालक गुरुङले भनिन्, ‘पानीघट्टको महत्त्व र यसबाट हुने फाइदा बुझेकाहरू पीठो पिस्न यहाँ आउनुहुन्छ।’ यहाँ आफूले चलाएको पानीघट्टमा सेवा लिन ठिनी गाउँ र जोमसोम आसपासका सेवाग्राही आउने गरेको गुरुङले बताइन्। 

पानीघट्टमा फापर, फापरको पात (ढाप्रा), उवा, फापर, जौँ, गहुँ र मकै पिस्न आउने गरेको जानकारी दिइन्। यहाँका पानीघट्ट सिँचाइका लागि प्रयोग गरिने कुलोको पानीबाट सञ्चालन गर्ने गरिएको उनको भनाइ छ। खेतीपातीमा सिँचाइ गर्दा घट्टको काम रोकिन्छ, अन्नबाली थन्क्याएपछिको खाली समयमा पानीघट्ट चलाउने गरेको उनले उल्लेख गरिन्।

पछिल्लो समय प्रविधिको विकाससँगै जलवायु परिवर्तनका कारण पानीका हिमनदीहरू सुक्दै जान थालेपछि पानीघट्ट संस्कृति जोगाउन मुस्किल पर्ने देखिएको बताइन्।

ठिनी पानीघट्टमा फापर पिस्ने सेवा लिन पुगेकी घरपझोङ-४ जोमसोमकी स्थानीय प्रमिता थकालीले परम्परागत पानीघट्टको महत्त्व र फाइदा मानिसले बुझ्न नसकेकोप्रति चिन्ता व्यक्त गरिन्। पानीघट्टमा पिसेको अन्नबालीको परिकार स्वादिलो, स्वास्थ्यवर्द्धक र दिगो हुने भएकाले आफू सधैँ पानीघट्टमा धाउने गरेको बताइन्।

पछिल्लो समय विद्युती मेसिन गाउँघरमा पर्याप्त मात्रामा सञ्चालनमा रहेको भए पनि घट्टमा पिसेको अन्नबालीको परिकार नतात्तिने, गन्ध नआउने, छिटो नब्रिगने र धेरै समयसम्म राख्न टिकाउ हुने भएकाले पानीघट्ट संस्कृति बिर्सन नहुने स्थानीय थकालीले उल्लेख गरिन्। मानिसहरू छोटो समय धेरै समय बचत गर्न चाहने सोचले गर्दा समय किफायत गर्न पानीघट्टमा जाने प्रचलन हराउँदै जान थालेको उनको भनाइ छ। जोमसोममा रहेको दुई पानीघट्टमध्ये एक पूरै बन्द भएको र अर्को पानीघट्ट चलाउन सिँचाइ कुलोको पानी नहुँदा समस्या पर्ने गरेको स्थानीय थकालीले बताइन्।

त्यसैगरी, घरपझोङ- ५ ठिनी गाउँकी स्थानीय हाल पोखरा बस्दै आइरही सीमा थकालीले पोखरामा लैजान फापर र उवाको सातु पिस्न घट्ट आएको बताइन्। मेसिनमा पिसेभन्दा पानीघट्टमा पिसेको पिठो स्वस्थ्यकर र लामो समयसम्म प्रयोगमा ल्याउन मिल्ने भएकाले पानीघट्टको संरक्षण गर्न आवश्यक रहेको औँल्याइन्।

पानीको सहायताले घट्टको जाँतोलाई घुमाएर चल्ने एक प्रकारको परम्परागत प्रविधि पानीघट्ट मुस्ताङका केही गाउँमा मात्र रहेको छ। यहाँ सदियौँदेखि घरेलु प्रविधिका रूपमा अपनाइएको परम्परागत पानीघट्ट संरक्षण, संवर्द्धन तथा प्रवर्धन गर्न सरोकारवाला निकायहरूले ध्यान दिनुपर्ने देखिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad