समाज


बेँसीसहर-चामे सडकको यात्रा जोखिमपूर्ण

बेँसीसहर-चामे सडकको यात्रा जोखिमपूर्ण

नेपालखबर
असार २२, २०८२ आइतबार ८:११, लमजुङ

चट्टान खोपेर बनाइएको साँघुरा सडक । माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर । अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मस्र्याङ्दी नदी।

उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक । मस्र्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै जोखिमपूर्ण बेँसीसहर-चामे सडक।

सोही सडकमा दैनिक सयौँ यात्रु जोखिम मोल्दै यात्रा गर्न बाध्य छन् । साँघुरो कच्ची सडक, सधैँ जोखिम मोल्नुपर्ने अवस्था छ । त्यसमा पनि अहिले ठाउँठाउँमा खसेको पहिरोका कारण जोखिमपूर्ण सडक पार गर्दै दैनिक सयौँ यात्री भगवान्को नाम जप्दै यात्रा गर्न बाध्य छन्।

यस्तो जोखिमपूर्ण बाटोमा दर्जनौ‌ सवारीसाधन लमजुङ-मनाङ आवतजावत गर्दछन् । हिमालपारिको जिल्ला मनाङबाट लमजुङ हुँदै विभिन्न ठाउँमा आउने र यहाँबाट मनाङ जाने एउटै बेँसीसहर–चामे सडक हो । भिरैभिर र मस्र्याङ्दी नदीमाथिमाथि हुँदै ढुङ्गैढुङ्गाको सडक व्यवस्थित नहुँदा यात्री बेँसीसहर-चामे सडकमा त्रसित हुँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

बेँसीसहरबाट खुदी, भुलभुले, स्याँगे, जगत, च्याम्चे हुँदै मनाङको तालबजार, तिमाङ हुँदै मनाङ सदरमुकाम चामेबजारसम्म ६५ किलोमिटर दूरी छ । यस सडकमा यात्रा जोखिमपूर्ण रहेको यात्रीहरू बताउँछन् । अधिकांश सडकखण्ड चट्टाने पहरो काटेर बनाइएकाले जोखिमपूर्ण छ भने अग्लो भिर, स–साना मोड, ग्रेडिङ नमिलेका र साँघुरो भएकाले थप जोखिमपूर्ण भएको स्थानीय सोमबहादुर गुरुङले बताए।

जीप चालक सोमराज मगरातीले भने, “विभिन्न ठाउँमा बेलाबेलामा पहिरो गइरहन्छ, पहिलाभन्दा पनि बाटो बिग्रँदै गएको छ, कुन बेला के हुन्छ डर रहन्छ ।” अर्का चालक रामबहादुर तामाङ भन्छन्, “सडकबाट खसिहाल्यो भने सिधै मस्र्याङ्दीमा पुग्ने भएकाले बाँच्ने कुनै सम्भावना छैन।” 

यात्राका क्रममा अधिकांश यात्री सडक र भिरको अवस्था देखेर डराउँछन् । कहिले त जीप गुड्दागुद्दै पनि माथिबाट ढुङ्गा र पहिरो खस्ने गर्छ, अझ बढी बर्खायाममा जोखिम हुने गरेको उनको भनाइ छ।

डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार बेँसीसहर–चामे सडकको यात्रा जोखिमपूर्ण छ । सरकारले आवश्कतानुसार पर्याप्त बजेट दिन नसक्दा सडक गुणस्तरीय नहुँदा जोखिम बनिरहेको छ । चालु आर्थिक वर्षमा रु ३६ करोड बजेट प्राप्त भएको थियो । आगामी आवका लागि यस सडकका लागि रु ४० करोड प्रारम्भिक बजेट सरकारले उपलब्ध गराउन लागेको छ।

विभिन्न ठाउँमा दैनिकजसो पहिराले सडक अवरुद्ध बनाउँदा मनाङवासी चिन्तित छन् । लामो समयसम्म पहिराले यो सडक अवरुद्ध बनाउँदा मनाङबाट बेँसीसहर हुँदै विभिन्न ठाउँमा जान हेलिकप्टर प्रयोग गर्नुको विकल्प छैन । जिल्लालाई सडक सञ्जालमा जोड्ने सरकारको योजनाअनुरुप २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली तनहुँले सडक निर्माण गर्न सुरु गरेको थियो।

विभिन्न कारणले २०५७ सालदेखि नेपाली सेनाले उक्त सडक निर्माणको जिम्मेवारी पायो । बाँदर लड्लाजस्तो जोखिमपूर्ण भिरमा ज्यानको बाजी लगाएर सेनाले उक्त सडक निमार्ण गर्न सफल भयो भने बाटो निर्माणका क्रममा केहीको मृत्युसमेत हुन पुग्यो। 

यसरी सेनाले निर्माण गरेको सडकबाट मनाङवासीको सपना पूरा भए पनि सडक स्तरोन्नति हुन नसक्दा भने मनाङवासी निराश छन् । उनीहरूमात्र नभई लमजुङवासी, यात्री तथा पर्यटकसमेत सडक स्तरोन्नति नहुँदा चिन्तित छन् । सबैको एउटै चाहना छ, सडक गुणस्तरीय होस् र दुर्घटनाको जोखिम न्यून होस्।

बेँसीसहरस्थित तत्कालीन नेपाली सेना कार्यगणले २०६९ सालमा सडक निर्माणकार्य सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौली तनहुँलाई हस्तान्तरण गरेको थियो । गणका इञ्जिनियर भरत श्रेष्ठ र इन्द्रीवर गुरुङको नेतृत्वमा सडक निर्माण गरी हस्तान्तरण गरिएको हो । बेँसीसहर–चामे सडक पार गर्न झण्डै ६ घण्टा लाग्छ। बर्खालागेसँगै यो सडकमा पटकपटक पहिरो खस्ने र सडक अवरुद्ध हुँदा यात्रीहरू हैरानीमा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad