समाज


म्याग्दीको पात्लेका १२२ घरमा खानेपानी सुविधा

म्याग्दीको पात्लेका १२२ घरमा खानेपानी सुविधा

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १२:२२, म्याग्दी

म्याग्दीकाे मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ। ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसङ्ख्या लाभान्वित भएका छन्।

उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको ३३ लाख ३७ हजार ३२५ र मालिका गाउँपालिकाको १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन्।

पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ । चारवटा मुहानको पानीलाई १२ हजार पाँच सय २७ मिटर लामो मुख्य र शाखा पाइपलाइनमार्फत नौवटा ट्याङ्की बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए।

म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले यसअघि सार्वजनिक धारामार्फत खानेपानी उपभोक्ता गर्दै आएका थिए। करिब २० वर्षअघि निर्माण भएको योजनाको संरचना जीर्ण हुँदा पानी आपूर्ति र वितरणमा समस्या भएको थियो।

स्थानीयवासी बलबहादुर रोकाका अनुसार, घरघरमा धारा जडान गरेर पानी वितरण भएपछि समयको बचत, झन्झटबाट मुक्ति, सरसफाइमा सहज भएएपछि उपभोक्तामा खुसीयाली छाएको छ। धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण भएको छ। पानीको मितब्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि धारामा मिटर जडान भएको छ।

मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुम्पीपार र डाडागाउँमा तीनवटा योजना निर्माण भएको छ । ती योजनाबाट चार सय घरपरिवार लाभान्वित भएको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए। डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad