समाज


एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

नेपालखबर
जेठ ४, २०८२ आइतबार ९:३०, गोरखा

गोरखाको गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाले। विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाएका उनलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्‍याएका थिए। उनीजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थालेका छन्।

आफ्नै गाउँमा गत मंगलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो। उनको पालो सबैभन्दा पछि थियो।

जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोले, उनी बसिरहेको कुर्सीबाट उठे। विस्तारै आँखाका परेला खोल्न थाले। 'एक दशकदेखि अन्धकार बनेको रङ्गीन संसार देखेँ। ऊ, मेरो ज्वाइँ', घरबाट बोकेर ल्याएका कर्णमाहिलातिर देखाए । सबैतिर हेर्न हतार नगर्न चिकित्सक गुरुङले सुझाव दिए। उनले आफूलाई संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिए।

दुर्गम भेगमा रहेको गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका ८८ वर्षीय रामबहादुर गुरुङले दुवै आँखाको ज्योति गुमाएको १० वर्ष पुग्यो। '२०६८ सालमा बारी जोत्दा हलोको फालीले लागेर दाहिने आँखा गुमाएको थिएँ, त्यसको चार वर्षपछि देब्रे आँखा पनि देख्न छाडेँ', गुरुङले भने।

त्यसयता गुरुङलाई आफ्नो घरआँगन परदेश लाग्न थाल्यो, आफन्तहरू परायाजस्ता । आफैँ हिँड्न नसक्ने भएपछि उनलाई परिवारले सुताउने, उठाउने, खाना खुवाउने र शौचालयसम्म लैजाने, ल्याउने गर्नुपर्थ्यो।

'पहिले त स्वरले चिन्थेँ । स्वर पनि र्बिसिएर विस्तारै चिन्न छाडेको थिएँ। म फलानो हुँ भन्यो भने बल्ल याद आउँथ्यो', गुरुङले भने, 'घरमा बूढी पनि रोगी, छोरा बाहिर विदेशमा छ । एउटा बुहारीले घरबारीको काम, हामी बुढाबूढीको स्याहार, नातानातिनीको स्याहार सबै हेर्नुपर्छ। बुढेसकालमा अरु केही गर्न नसके पनि आफ्नो काम चाहिँ आफैँ गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो सपना आज पूरा भयो', शल्यक्रियापछि आँखाको ज्योति पाएका गुरुङले भने।

शल्यक्रियापछि ससुरा आफैँ हिँड्डुल गर्न सक्ने भएपछि कर्णमाइलालाई पनि सन्तोष मिलेको छ । 'बुढो मान्छे, त्यसमाथि आँखा नदेख्ने भएपछि साह्रै बिजोग हुनेरहेछ', उनले भने, 'अब त सबै देखेँ, हिँड्छु भनेका छन् । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ।'

धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग तथा मात्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा गुम्दामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो। 

शिविरमा धार्चेको गुम्दा, सिङ्ला, लप्सीबोट, यामगाउँ, खानीगाउँलगायत आसपास क्षेत्रका चार सय सात जनाले सेवा लिएका थिए। शिविरमा रामबहादुरसहित ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो।

तीन दिनसम्म चलेको शिविरमा वरिष्ठ आँखारोग विषेशज्ञ डा. कमलबहादुर खड्का नेतृत्वको टोलीले सेवा दिएको थियो। विकट ठाउँमा आएर वृद्धवृद्धालाई सेवा दिन पाउँदा खुसी लागेको डा. खड्काले बताए। 'गाउँघर यस्तै हो, कति दुःख कति सुख । जे होस् यति टाढा आएर सेवा दिने मौका मिल्यो। खुसी लागेको छ', उनले भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad