समाज


ट्रयाक खुलेको १४ वर्षपछि सडक स्तरोन्नति

ट्रयाक खुलेको १४ वर्षपछि सडक स्तरोन्नति

नेपालखबर
बैशाख २२, २०८२ सोमबार ७:५२, म्याग्दी

ट्रयाक  खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ-बिम-दिच्याम सडक स्तरोन्नति थालिएको छ। गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ठेक्कामार्फत दरवाङ(बिम(दिच्याम सडक अन्तरगत खारा-बिम–डाडाँगाउँ खण्डमा स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेको हो। 

गत असार महिनामा एघार करोड १९ लाख ९० हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको सर्वशक्ति महामाया प्रालिले सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थालेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। 

दुई वर्षको ठेक्का अवधि रहेको योजनाको करिब १५ प्रतिशत प्रगति भएको छ। २०६८ सालमा तत्कालीन जिविस, बिम गाविस र स्थानीयवासीको चन्दा सङ्कलनबाट खारादेखि बिम जोड्ने करिब सात किलोमिटर सडक निर्माण भएको थियो। 

हाल ३.५ देखि ५ मिटर फराकिलो सडकलाई सात मिटर फराकिलो पार्ने, नाली, पर्खाल निर्माण, ढलान, ग्राभेल र कालोपत्र गरिने पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए। दरवाङदेखि खारासम्मको सडकमा म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाका धेरै तौलका सामान बोक्ने सवारी साधन हिँड्ने र क्षति पुग्ने भएकाले खारादेखि बिम तल्लो गाउँहुँदै डाडाँगाउँसम्मको खण्डमा स्तरोन्नतिको आयोजना सञ्चालन गरिएको म्याग्दी १ (२) बाट निर्वाचित रेशमबहादुर जुग्जालीले बताए। 

जुग्जालीले गत वर्ष गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी सम्हाल्दा चार करोड बजेट विनियोजन गरेर बहुवर्षीय ठेक्का लगाउन २० करोड रुपैयाँ बजेटको स्रोत सुनिश्चितता भएको थियो। चालु आर्थिक वर्षमा भने एक करोड ५० लाख रुपैयाँ मात्र विनियोजन भएको छ। 

सडकको शनिबार अनुगमन गरेका प्रदेशसभा सदस्य जुग्जालीले निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिए। लुरवाङ-तल्लोगाउँ खण्डमा भित्तो काटेर सडक फराकिलो बनाएको ठेकेदारले टेवा पर्खाल निर्माण गरिरहेको छ। यो सडकबाट मालिका गाउँपालिका-७ को साविक बिम गाविस, धवलागिरि गाउँपालिका–५ मल्कवाङ र ६ मराङ तथा मालिका गाउँपालिका- ६ दिच्यामका बासिन्दा लाभान्वित हुने खाराका बासिन्दा बुद्धि जुग्जालीले बताए। 

धार्मिक पर्यटकीयस्थल मालिका धुरी, प्रभुचेला, बिम बराह ताल घुम्न तथा दर्शन गर्न जाने पर्यटक एवं भक्तजनलाई सहज हुनेछ। सुन्तला, आलुलगायत कृषि उपज बिक्री, आवतजावतमा सहज बनाउन र बसाइसराइ कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad