समाज


ढोरपाटनमा ११ नाउर र ७ झारलको सिकार

ढोरपाटनमा ११ नाउर र ७ झारलको सिकार

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १०:३, बागलुङ

नेपालको एकमात्र सिकार आरक्ष बागलुङकाे ढोरपाटनमा यस वर्षको दोस्रो सिकारयाम सकिएको छ। दोस्रो याममा ११ नाउर र सात झारलमात्र सिकार भएको छ। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्न बोलपत्र आह्वान गरी १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार गर्ने अनुमति दिएको थियो।

सिकार खेल्नका लागि हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एन्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका थिए। वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको फागुने, सुनदह, घुस्तुङ, दोगाडीलगायत ब्लकमा पुगेका थिए।

ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार, चैत २६ गतेदेखि सिकारी ढोरपाटन आएका थिए। सिकारीले सुनदह ब्लकमा दुई नाउर र दुई झारल, घुस्तुङ ब्लकमा तीन नाउर र तीन झारल, दोगाडी ब्लकमा चार नाउर र एक झारल, फागुने ब्लकमा एक नाउर र एक झारल र बार्सेमा एक नाउरको सिकार थिए । १२ बँदेलको सिकार अनुमति दिए पनि एउटा पनि सिकार भएन।

दोस्रो याम (फागुन–वैशाख)का लागि वैशाख १६ गतेसम्म सिकारीले सिकार खेलेका थिए । सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टस काठमाडौँले सिकारीमार्फत दुई नाउर, दुई र दुई बँदेल सिकार गर्न अनुमति पाएको थियो । यो कम्पनीले एउटा नाउर र एउटा झारल मात्र सिकार गरेको छ। ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकन सिकारीले दुई नाउर र दुई झारल सिकार गर्ने अनुमति पाएकामा सबै वन्यजन्तुको सिकार गरेको उनले बताए।

त्यसैगरी हिमालयन सफारिज प्रालि काठमाडौँमार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनमति पाएकामा तीन नाउर र एक झारल सिकार गरेका छन्। ग्लोबल सफारिज नेपाल प्रालिमार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका थिए। 

त्यसमध्ये दुई नाउर र एक झारलको सिकार गरेका छन्। नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत तीन सिकारीले तीन नाउर, तीन झरल र तीन बँदेल सिकार गर्ने अनुमति पाएकामा दुई नाउर मात्र सिकार गरेको सुवेदीले जानकारी दिए।

ओपन नेपाल वाइल्डलाइफ सफारिज एन्ड ट्रेक्स प्रालिमार्फत तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएकामा एक नाउर र दुई झारलको सिकार गरेको उनले बताए।

दोस्रो सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, फ्रान्सबाट सिकारी आएका थिए। ढोरपाटनमा हरेक वर्ष (असोज–मङ्सिर) पहिलो र (फागुन–वैशाख) दोस्रो याममा सिकार हुने गर्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad