नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्रका दुईवटा आधारभूत विद्यालय गाभिएका (मर्ज) छन् । गैँडाकोट-३ मा रहेको मङ्गलादेवी आधारभूत विद्यालय र गैँडाकोट-५ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई नजिकै रहेका विद्यालयसँग गाभिएको हो।
गैँडाकोट नगरपालिकाका शिक्षा अधिकृत रामप्रसाद अधिकारीका अनुसार वडा नं ३ को मङ्गलादेवीमा नौ जना मात्रै विद्यार्थी हुँदा सोही वडाको कृष्णगण्डकी माध्यमिक विद्यालयसँग गाभिएको हो । त्यस्तै गैँडाकोट–५ को सरस्वती आधारभूत विद्यालयबाट अर्को विद्यालय दुई सय मिटरको दूरीमा भएपछि जनक नमूना माध्यमिक विद्यालयसँग गाभिएका उनले जानकारी दिए।
भौगोलिक हिसाबले नजिकै भएका तथा विद्यार्थी सङ्ख्या थोरै भएका सामुदायिक विद्यालयलाई एकआपसमा गाभेर गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य रहेको अधिकारीले बताए।
‘नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नका लागि एउटा कार्यदल गठन गरिएको थियो’, उनले भने, ‘सोही कार्यदलको प्रतिवेदनका आधारमा थप विद्यालय पनि मर्ज हुने तयारीमा छन्।’
कार्यदलले विद्यालय समायोजन, दरबन्दी समायोजन, कक्षा स्तरोन्नति तथा कक्षा घटुवा, आवासीय विद्यालय सञ्चालनलगायत विषयमा सुझाव पेस गरेको कार्यदल संयोजक एवं नगर शिक्षा अधिकारी चापागाईंले जानकारी दिए।
‘भौगोलिक रूपमा विकट भएका वडा नम्बर ३ र १८ मा विद्यार्थी सङ्ख्या बढाउन तथा शैक्षिक गुणस्तर वृद्धि गर्न आवासीय विद्यालय सञ्चालन र कक्षा घटुवा गर्नेगरी प्रतिवेदन दिएका छौँ’, उनले भने, ‘यी दुई पहाडी वडामा रहेका विद्यालय मर्ज गरेर जाँदा विद्यार्थीलाई पढ्न कठिन हुने भएकाले विद्यार्थीको सुविधाका लागि कक्षा घटुवा तथा आवासीय विद्यालय निर्माण गर्ने प्रतिवेदन दिएका हौँ।’
वडाका अन्य स्थानमा भने सरकारले जारी गरेको नियमअनुसार विद्यालय समायोजन गर्ने तयारी गरिएको चापागाईंले बताए । उनका अनुसार १८ वटा वडा रहेको गैँडाकोट नगरपालिकामा ३५ सामुदायिक विद्यालय छन् । नगरभित्र सञ्चालित विद्यालयमध्ये १४ वटा सामुदायिक विद्यालयमा एक सयभन्दा कम विद्यार्थी रहेका उल्लेख गर्दै नगर शिक्षा अधिकारी चापागाईंले त्यसमध्ये ५० भन्दा कम विद्यार्थी हुने विद्यालय आठ वटा रहेका जानकारी दिए।
एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयमा सात सय ८६ विद्यार्थी अध्ययनरत छन् । ती विद्यालयमा ६२ जना शिक्षक कार्यरत रहेका जनाउँदै विद्यार्थी भर्ना अभियान जारी गएर विद्यार्थी सङ्ख्या बढाउनुपर्ने अवस्था रहेको चापागाईंले बताए।
शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर एक, पहाडमा ४५ विद्यार्थी बराबर एक र तराई एवं उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था उल्लेख गरेको छ।
अहिले सरकारले वैशाख २ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्न भने पनि सामुदायिक विद्यालयका शिक्षक सङ्घीय राजधानी काठमाडौँ केन्द्रित प्रदर्शनमा हुँदा विद्यार्थी भर्ना अभियान सुरु हुन सकेको छैन। रासस
Shares

प्रतिक्रिया