समाज


खानेपानीको सुविधा भएपछि प्यारो लाग्न थाल्यो आफ्नै गाउँ

खानेपानीको सुविधा भएपछि प्यारो लाग्न थाल्यो आफ्नै गाउँ

नेपालखबर
चैत २५, २०८१ सोमबार ७:५२, नवलपरासी

खानेपानीको चरम अभाव झेलिरहेको बस्ती झ्याल्टुङ डाँडामा खानेपानी पुगेपछि बसाइँ सर्ने क्रम रोकिएको छ। 

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यविन्दु नगरपालिका–१० झ्याल्टुङ डाँडामा खानेपानीको समस्या भएपछि केही वर्षदेखि गाउँ छाड्ने क्रम बढ्दै गएकामा अहिले उक्त क्रम रोकिएको झ्याल्टुङडाँडा ,चिसोपानी, पोखरी ताल खानेपानी सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हेमबहादुर थापाले बताए।

‘गाउँ छाडेर जाने गइसके, खानेपानी सफल नभएको भए म पनि हिँड्थे, पानी आयो छाडेर जान पनि मन लाएको छैन । जग्गा छ, बस्तु पाल्न मिलेको छ , यही बस्ने हो अब,’ हेमबहादुरले भने। 

विसं २०७६ मा सुरु भएको लिफ्टिङ खानेपानी योजना अहिले आएर पूर्ण भएको संस्थाका अध्यक्ष थापाले बताए। निर्माणको काम ढिलो हुँदा खानेपानी गाउँमा आउँदैन कि भनेर निराश बनेका आफूहरू अहिले खुसी भएको उनले बताए। खानेपानीको अभावकै कारण गाउँ छाडेका केही फर्किन लागेको उनले बताए।

खानेपानी लिन डेढ दुई घण्टा लाग्ने गरेकोमा अहिले घर छेउको धारामा पानी आउँदा गाउँ नै रमाइलो भएको नरबहादुर सारू मगरले बताए । खानेपानी संस्थाका सचिवसमेत रहेका उनका अनुसार अहिले झ्याल्टु ङडाँडासहित वरपरका गाउँ पोखरी ताल, चिसापानी ,सानो पोखरी, टाडीलगायतका गरी करिब एक सय ९१ घरलाई खानेपानीको सुविधा पुगेको छ। अँधेरी खोलाको मुहानबाट लिफ्टिङ गरी खानेपानी वितरण गरिएको उनले बताए।

खानेपानीको समस्या भएपछि गाउँ छोड्ने टुङ्गोमा पुगिसकेको अवस्थामा अहिले पानी घरकै धारामा आउँदा स्वर्गै जस्तो लागेको स्थानीय गोमा विकले बताइन्। 

‘अहिले त धेरै सुविधा भयो, पहिले एक दुई खेप भन्दा धेरै पानी बोक्न सकिन्थेन, केही समय पानी नआए गाउँ छाडेर हिँड्नेनै टुङ्गोमा थियौँ, एक खेप पानी लिन दुई घण्टा लाग्ने, लुगा धुन ,नुहाउन नपाउने।’ उनले भनिन्, ‘अहिले धेरै सुविधा भएको छ। अहिले त स्वर्गै जस्तो भएको छ।’

पहिले दिनमा तीन चार खेप पानी बोक्नु पर्दा एक जनाको कामनै पानी बोक्ने हुने गरेको स्थानीय पुनिसरा विकले बताइन्। पानी अड्कलेर खर्च गर्नुपर्नेमा अहिले घरमै खानेपानीको धारा आएपछि खानेपानीको समस्या टरेको उनले बताइन्। 

पानीको समस्या हुँदा डुल्दै कोही पाहुना आएर पानी मागे पनि दिन नपुग्ने अवस्था रहेको इशरा बाकवलले बताइन्। बसाइँको हिसाबले सुन्दर ठाउँ भए पनि खानेपानी नहुँदा झ्याल्टुङडाँडाका स्थानीयले लामो समयदेखि दुःख पाउँदै आएकोमा अहिले खानेपानीको दुःख हटेको उनले बताइन्।

झ्याल्टुङडाँडामा गण्डकी प्रदेश सरकारको लागतमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँ, इकाइ कार्यालय नवलपुरमार्फत करिब रु एक करोडको लागतमा लिफ्टिङ प्रविधिबाट खानेपानी योजना सम्पन्न गरिएको इकाइ कार्यालय नवलपुरका प्रमुख महेन्द्र आचार्यले बताए। कार्यालयले खानेपानी नपुगेका घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ योजना निर्माण गरी काम गरिरहेको उनले बताए।

झ्याल्टुङडाँडा सहितको क्षेत्रमा खानेपानीको व्यवस्थाका लागि मध्यविन्दु नगरपालिका–१० र नगरपालिका कार्यालयबाट विद्युतीकरणमा सहयोग पु¥याएका नगर प्रवक्ता एवं वडा नं –१०का वडाध्यक्ष रणबहादुर थापा क्षेत्रीले बताए। 

मुहान भएको स्थानसम्म विद्युत् पु¥याउने र ट्रान्समिटर जडान गर्ने लगायतका कार्यका लागि रु २० लाख बजेट विनियोजन गरी काम गरिएको उनले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad