समाज


अन्नपूर्ण क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल

अन्नपूर्ण क्षेत्रमा बढ्यो पर्यटकको चहलपहल

फाइल तस्बिर


नेपालखबर
चैत ११, २०८१ सोमबार १५:१०, गण्डकी

दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ। यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ। 

ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए। 'मौसम सफा छ, हिमाल खुलेको छ, पर्यटन क्षेत्र चलायमान बनेको छ,' उनले भने, 'शरद ऋतुपछि यो याममा धेरै पर्यटक नेपाल भित्रिन्छन्।'

अध्यक्ष आचार्यका अनुसार पदयात्रामा विदेशी पर्यटकसँगै पछिल्लो समय आन्तरिक पर्यटकको  पनि आकर्षण बढेको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानी, कास्कीको खुमै डाँडा, कोरी आदि पदयात्री पर्यटकको रोजाइमा पर्ने गन्तव्यस्थल हुन्। अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्यस्थल रहेको अध्यक्ष आचार्यले बताए। 

गत वर्ष पोखरालाई पर्यटनको राजधानी सहरका रूपमा घोषणा गरेपछि यस क्षेत्रमा पर्यटकको आकर्षण थप बढेको उनको भनाइ छ। पोखरा जोड्ने मुख्य सडकमार्ग र अन्तर्राष्ट्रिय हवाईयात्रालाई नियमित तथा व्यवस्थित बनाउन सके उल्लेख्य संख्यामा पर्यटक भित्र्याउन सकिने उनले बताए। अध्यक्ष आचार्यले कतिपय पुराना र स्थापित पदमार्ग सडकका कारण संकटमा परेकाले तिनको विकल्प खोज्नुपर्ने बताए। 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा २ लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका थिए, जसमा दक्षिण एसियाली मुलुकका १ लाख ३२ हजार ९४ र अन्य मुलुकका १ लाख ११ हजार ९ सय ५१ रहेका थिए। उक्त संख्या हालसम्मकै बढी रहेको आयोजना प्रमुख डा रविन कडरियाले बताए। त्यसअघि सबैभन्दा बढी सन् २०२३ मा १ लाख ९१ हजार ५ सय ५८ पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए। 

सन् २०१९ मा १ लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड–१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो। उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार १ सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा १ लाख २९ हजार ७ सय ३३ पर्यटक अन्नपूर्ण क्षेत्रमा पुगेका थिए। गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा कडरियाले बताए। 

उनका अनुसार ‘एक्याप’ ले पदयात्रा र सडकमार्ग भएर सो क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको तथ्यांक राख्दै आएको छ। ७ हजार ६ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन्। 

अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले देशविदेशका पर्यटकको रोजाइमा पर्ने गरेको छ। यहाँको प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द लिन पर्यटक पदयात्रामा जाने गरेका छन्। 

कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ। आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण क्षेत्र पदयात्राका लागि उत्कृष्ट मानिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad