समाज


पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा

पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा

नेपालखबर
माघ ९, २०८१ बुधबार ११:२७, पर्वत

पर्वतको मोदी गाउँपालिका-४ मा रहेको प्रसिद्ध पर्यटकीय गाउँ लेसपारमा एक घर एक धारा विस्तार गरिएको छ। लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उक्त गाउँका दुई सय १६ घरधुरीमा एक घर एक धारा निर्माण गरी पानी वितरण गरिएको हो।

कादुरी एग्रिकल्चर एड एशोसियट्स ब्रिटिस गोर्खाज नेपालको सहयोगमा त्यहाँका सबै घर, सामुदायिक विद्यालय र सामुदायिक भवनमा धारा विस्तार गरिएको हो। गत जेठदेखि सबै घुरधुरीमा सहज रूपमा खानेपानी पुगेको समाजसेवी नरसिंह पुनले जानकारी दिए। 

पुनका अनुसार दुई सय ११ घर, एक विद्यालय र चार वटा सामुदायिक भवनमा धारा विस्तार गरिएको छ। यो योजनाबाट लेसपारका झण्डै एक हजार बासिन्दा लाभान्वित भएको उनले बताए। उक्त खानेपानी आयोजनाको यही माघ १५ गते उद्घाटनको कार्यक्रम रहेको आयोजना प्रमुख पुनले जानकारी दिए।

खानेपानी योजना रु। एक करोड ३६ लाख ५८ हजार पाँच सय ६० को लागतमा सम्पन्न भएको हो। जसमध्ये रु। १९ लाख ७१ हजार नौ सय बराबरको स्थानीयले जनश्रमदान गरेका छन् भने संस्थामार्फत रु। एक करोड १६ लाख ८६ हजार छ सय ६० खर्चिएको आयोजना प्रमुख बुद्ध पुनले जानकारी दिए।

आयोजना प्रमुख पुनका अनुसार खानेपानी विस्तारका लागि दुई वटा इन्टेक टंकी, दुईवटा फिल्टर टंकी, एक वितरण चेम्बर, पाँच वटा रिजर्भ टंकी निर्माण गरिएको छ। बस्तीभन्दा माथि रहेको जंगलका लाटा खर्क र सिस्नेरा गरी दुई वटा मुहानबाट पानी ल्याइएको छ। कूल छ हजार सात सय ६२ मिटर पाइपलाइनमार्फत पानी वितरण गरिएको पुनले जानकारी दिए।

घरघरमै खानेपानी सुविधा उपलब्ध भएपछि पानीका लागि खोला, कुवा र खोल्सामा धाउनुपर्ने स्थानीयको बाध्यता हटेको लेसपार एक घर एक धारा खानेपानी उपभोक्ता समितिका अध्यक्ष भिमबहादुुर पुनले बताए। 

स्थानीयले खानेपानी उपभोगका लागि मात्र नभएर व्यावसायिक तरकारी खेतीमा  प्रयोग गर्दै आएका छन्। वर्षौँदेखि खानेपानीको जोहो गर्न सास्ती खेप्दै आएका स्थानीयवासीको दैनिकीमै परिवर्तन आएको उनले बताए।

मगर समुदायको मात्र बसोबास रहेको लेसपार पछिल्लो समय पर्यटकीय गाउँको रूपमा विकास हुँदै गएको छ। ढुंगैढुंगाले छाएका घरहरू, मगर समुदायको कला र संस्कृति तथा घरवासमा बस्नका लागि यहाँ विभिन्न क्षेत्रबाट पर्यटकहरू आउने गर्दछन्।

अन्नपूर्ण चक्रीय पदमार्गको वैकल्पिक मार्गका रूपमा विकास भएको नयाँ पुल-देउपुर-लप्सीवोट-देउराली-लेसपार हुँदै पर्यटक पर्वतको जलजलादेखि म्याग्दीको नागी, पुन हिललगायतका ठाउँमा जानका लागि यो मार्ग प्रयोग गर्दै आएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad