म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालिगण्डकी नदीमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको छ। बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकलाई लक्ष्य गरी बुधबारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दूरीको र्याफ्टिङ सञ्चालन गरिएको हो।
नेपाल रिभर एक्सपोलर प्रालिसँगको सहकार्यमा जलयात्राका लागि र्याफ्टिङ सञ्चालन गरिएको काली पुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनले बताए। पुनले हरेक हिउँदमा कालिगण्डकी नदीमा नियमित र्याफ्टिङ सञ्चालन गर्दै आएका छन्।
‘महोत्सवमा आउने दर्शक र पर्यटकलाई थप मनोरञ्जनका लागि जलयात्रा सुरु गरिएको छ, छोटो दूरीमा न्यूनतम शुल्क लिएर र्याफ्टिङ सेवा प्रवाह गरेका छौँ’, उनले भने। बेनीस्थित जलेश्वरदेखि म्याग्दी र कालीगण्डकी नदीको दोभानसम्म प्रतिव्यक्ति ८०० र बगरफाँटबाट दोभानसम्म ६०० रुपैयाँ तिरेर र्याफ्टिङ गर्न सकिने जनाइएको छ।
नदीको आसपासका पहाडी भूगोल र तटीय क्षेत्रका बस्तीले कालिगण्डकी नदीमा र्याफ्टिङका लागि उत्तम मानिने गाइड सन्तोष गिरीले बताए। उनले जलयात्रामा रमाउन चाहनेहरूको समूह बनेमा लामो दूरीमा समेत र्याफ्टिङ सञ्चालन गर्न सकिने जानकारी दिए।
तत्कालका लागि दुईवटा आठ-आठजना यात्रु क्षमताका बोट सञ्चालन गरिएका छन्। गलेश्वर-बेनीलाई प्राथमिकता दिइएको भए पनि यात्रु र पर्यटकको चाहनाबमोजिम बेनी हुँदै मालढुङ्गाबाट नयाँपुल भएर मिर्मीसम्म पनि जलयात्रा गराउन सकिने जनाइएको छ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बेनी आसपासको क्षेत्रमा जलयात्राको सम्भावना उजागर गर्दै पर्यटन प्रवर्धनमा र्याफ्टिङले सहयोग पुग्ने अपेक्षा गरेको बताए।
बेनी नगरपालिका-९ गलेश्वरधामबाट सदरमुकाम बेनीको दोभान हुँदै मालढुङ्गा नयाँपुल भएर मिर्मी पुग्न सकिनेगरी र्याफ्टिङ सञ्चालन गर्न पहल भइरहेको उनले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया