समाज


बागलुङका आमा समूह पन्चै बाजा संरक्षणमा

बागलुङका आमा समूह पन्चै बाजा संरक्षणमा

नेपालखबर
पुस १७, २०८१ बुधबार ९:९, बागलुङ

परियार समुदायको पुर्ख्यौली पेसाका रूपमा पन्चै बाजा हिजो आज अन्य समुदायले पनि बजाउन थालेका छन्। गाउँ तथा सहरमा बिस्तारै पन्चै बाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन्। 

युवा शक्ति विदेश पलायन भएपछि संकटमा पर्न थालेको पन्चै बाजा बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ । अहिले यहाँका महिला समूहले समेत बाजा बजाउन थालेका छन्।

पन्चै बाजा बजाउने चलन लोप हुन थालेपछि महिलाहरू यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउराली चोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताइन् । विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरूले बजाउन थालेको उनको भनाइ छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उनले उल्लेख गरिन्। 

थापाले भनिन् ‘अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता विद्यालय सकाएपछि विदेश नै जान हतारिन्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे, व्रतबन्ध, पास्नी हुँदा बाजा बजाउनै छोडेको हुँदा दिदीबहिनीहरू मिलेर पन्चै बाजा बजाउन थालेका हौँ, सुरुमा सिक्न केही समय लाग्यो अहिले सबैले सिकेपछि ठाउँ–ठाउँमा बजाउन जाने गरेका छौँ।’

दुई वर्ष अगाडिदेखि बाजा बजाउन सिकेका महिलाहरूले अहिले यसैबाट आम्दानीसमेत गर्न थालेका छन् । सुरुमा गाउँका पन्चै बाजा समूहबाट सिकेका उनीहरूले रु। एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यावसायिक रूपमा बजाउन थालेका हुन्। 

एउटा विवाहबाट ३० हजारदेखि ५० हजार रुपैयाँसम्म लिने गरेको पन्चै बाजा समूहकी सदस्य कला श्रीसले जानकारी दिइन्। विवाहको याममा बागलुङका ग्रामीण क्षेत्रदेखि ठूला(ठूला सहरसम्म बाजा बजाउन जाने गरेको उनको भनाइ छ।

‘सुरुमा बाजाको ताल सिक्न केही समय लाग्यो, अहिले ५० जनाभन्दा बढी दिदीबहिनीहरूले पन्चै बाजा बजाउने गर्छौँ’, उनले भनिन् अब सिक्न चाहनेलाई पनि सिकाउन सकिन्छ, हामीलाई मङ्सिर र माघमा भ्याइनभ्याइ हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad