समाज


जलजला ढोरपाटनको ‘भ्यू प्वाइन्ट’

जलजला ढोरपाटनको ‘भ्यू प्वाइन्ट’

नेपालखबर
कात्तिक १३, २०८१ मंगलबार १३:५४, म्याग्दी

घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन। बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य। शरदयाममा खुलेका आकाश। वन्यजन्तु र पक्षीहरुको आवाज। शान्त र एकान्त वातावरण।

म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान हो । पूर्वीरुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षमा पर्ने जलजला पछिल्लो समय पर्यटकको रोजाइमा पर्न थालेको छ।

परिवारसहित गत हप्ता ढोरपाटन घुम्न गएका बेनीका मिलन खत्रीको टोली हिमशृङ्खला अवलोकनका लागि जलजलामा पुगेर फर्कियो।

‘शान्त वातावरणमा, छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदोरहेछ’, खत्रीले भने, ‘समथर फाँटमा बसेर आँखै अगाडि देखिने हिमालको लर्कनले चित्रकारले कोरेको क्यानभासको आभास गरायो।’


समुद्री सतहबाट तीन हजार चार सय २० मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमाल र सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ।

बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वनजङ्गल, वसन्त ऋतुमा गुराँसे जङ्गलको अवलोकन गर्न पाउनु यहाँको अर्को विषेशता हो।

जलजलामा रहेको ‘गोठस्टे’का सञ्चालक फुलबहादुर विश्वकर्माले दैनिकजसो पर्यटकहरू आउने गरेका बताए । ‘ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटक हिमालको दृश्यावलोकनका लागि जलजला आउने गर्नुहुन्छ’, उनले भने, ‘दसैँ–तिहारको बिदा र घुमघामको अनुकूल मौसम भएकाले पर्यटकलाई बसोबासको व्यवस्था मिलाउन धौधौ भएको छ।’

गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा बस्ती, होटल र रेष्टुरेन्ट छैन । म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएका छन्।

च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैंसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैं बन्दोबस्तीको सामान लगेर जानुपर्छ । हिजोआज दैनिक २० देखि ५० जनासम्म पर्यटक आउने गरेका विकले बताए।

ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ। पैदलयात्रा गर्न पाँचदेखि छ घण्टा लाग्छ । बेनीबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना हुँदै खोरियासम्म गाडी र त्यहाँदेखि पाँच घण्टा उकालो यात्रा गरेपछि जलजला पुगिन्छ।

जलजला धवलागिरि गाउँपालिकाको मुना, दर, फलियागाउँ, लुलाङ, लमसुङ, खोरिया र मरेनीका बासिन्दाको चरन क्षेत्र हो । ढोरपाटन सिकार आरक्षका रेञ्जर सुवेदीले जलजला ढोरपाटन घुम्न आउनेहरूका लागि ‘भ्यू प्वाइन्ट’का रूपमा विकास भएको बताए।

उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म पाँच हजार दुई सय चार जना पर्यटकले ढोरपाटन भ्रमण गरेका छन्।

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणका साथै प्रचारप्रसारमा जोड दिएको बताए । बागलुङतर्फबाट सडकले जोडिएको जलजलामा म्याग्दीतर्फबाट जिल्लाकै प्राथमिकताप्राप्त आयोजना सञ्चालन भएको उनले बताए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad