समाज


गोरखामा कुहिँदै करोडौँको स्याउ, बजारसम्म पुर्‍याउने व्यवस्था गर्न सरकारसँग किसानको माग

गोरखामा कुहिँदै करोडौँको स्याउ, बजारसम्म पुर्‍याउने व्यवस्था गर्न सरकारसँग किसानको माग

फाइल तस्बिर


नेपालखबर
कात्तिक ३, २०८१ शनिबार ११:५७, भक्त्तपुर

गोरखाको चुमनुब्री गाउँपालिकामा ३० हजार बोटमा फलेका करोडौँ मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै स्थानीय जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ पुर्याउने व्यवस्था गर्न माग गरेका छन्।

उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गरे। 

उनले भने, ‘कृषि र पर्यटनको अथाह सम्भावना रहेको गोरखाको चुमनुब्री गाउँपालिकामा करोडौँको स्याउ बाटो नहुँदा बजारसम्म ल्याउन नसकेर कुहिने अवस्थामा पुगेको छ, सरकारले ती स्याउलाई बजारसम्म ल्याउने व्यवस्था गरिदिनुपर्छ।’

गत महाअष्टमीको दिनमा महाअभियानले हेलिकप्टरबाट चार सय ५० किलो स्याउ काठमाडौँ ल्याउँदा प्रतिकेजी रु छ सय ६६ पर्न गएको भन्दै सरकारले ती स्याउ नल्याए किसानको करोडौँको स्याउ कुहिने बताए।

चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले भने, ‘भौगोलिक दृष्टिकोणले विकट रहेको हिमालपारीको गाउँ चुमनुब्रीमा स्याउका ३० हजार बिरुवाको खेती रहेकामा यातायातको सुविधा नहुँदा करोडौँको स्याउ बिग्रने अवस्थामा पुगेको छ।’

उनले यहाँको स्याउलाई मनास्लु स्याउ नामकरण गरिएको जानकारी दिए।  कृषि र पर्यटनलाई जाड्नेगरी छिटो सडकको पहुँच पुर्‍याए स्याउ, कोदो, मकैको लोकल रक्सी र वाइन उत्पादनगरी ब्राण्ड बनाउन सकिने उनको भनाई छ।

बाह्र हजार पाँच सय स्याउको बोट लगाएका पर्यटन व्यवसायी लाक्पा ढुड्डु लामाले आफूले स्याउको विरुवा रोप्दा तीन वर्षसम्ममा गाउँमा सडक पुग्ला भन्ने सोचेर खेती सुरु गरे पनि सडक नपुग्दा नोक्सानी व्यहोर्नु परेको बताए।

उनले भने, ‘गत वर्षभन्दा यस वर्ष दोब्बर स्याउको उत्पादन बढेको छ, एउटा बोटमा कम्तीमा ४५ वटा स्याउ फल्छ, मेरोमा मात्रै पाँच लाख दाना छ, केही स्याउको दाना, सुकुटी, वाइनलगायत बनाएर बिक्री गरौँला, करिब तीन लाखभन्दा बढी स्याउ कुहिने अवस्थामा पुगेको छ, अरु किसानको पनि अवस्था उस्तै छ।’

गोरखाकै धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले आफ्नो पालिकामा आलु, किबी, ड्रागन फ्रुटको प्रशस्त खेती रहे पनि बजार नपाएको बताइन्। उनले भनिन्, ‘किबी र ड्रागन फ्रुटको उत्पादन राम्रो छ, तर सडक नपुग्दा बजार नपाएको अवस्था छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad