आफ्ना सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तालेले पोखरामा प्रदर्शन सुरु गरेका छन्। अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको मुल गेट अगाडि पनि रास्वपाका कार्यकर्ता भेला भएका छन्।
गएराति पोखरा पुर्याएपछि प्रहरीले सभापति लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखेको छ।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले पोखरामा प्रदर्शन गरेको हो।
पोखराको चिप्लेढुंगास्थित मानवअधिकार चोकमा र काठमाडौँको माइतीघरमा राजनीतिक प्रतिशोधविरुद्ध प्रदर्शन गरिने रास्वपाले जनाएको छ। त्यसैगरी विभिन्न जिल्लामा पनि लामिछाने पक्राउको विरोधमा रास्वपाले प्रदर्शनको तयारी गरिरहेको छ।
शनिबार साँझ काठमाडौँस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई गएराति नै पोखरा लगिएको हो।
पोखरामै रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ।
आज सार्वजनिक बिदा परेका कारण भोलि मात्रै लामिछननेलाई अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
यसैबचि पोखरामा आजै सहकारी पीडितले पनि प्रदर्शनको तयारी गरेका छन्। पोखराको गैह्रापाटनमा उनीहरुले प्रदर्शनको तयारी गरेका हुन्। दुवै पक्षले प्रदर्शनको तयारी थालेपछि रास्वपा कार्यकर्ता र सहकारीपीडित पोखरामा आमनेसामने हुने अवस्था सिर्जना भएको छ।

Shares

प्रतिक्रिया